पब्लिक सूचना
रूपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो लागेको छ । हरेक वर्षको साउन महिनामा कपिलवस्तुको लक्ष्मणघाट, गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गम रिडी, पश्चिम नवलपरासीको त्रिवेणी र तनहुँको देवघाटबाट जल उठाएर पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गमा जलार्पण गर्ने तीर्थयात्रुको ठुलो भिड नै लाग्ने गरेको छ । पर्रोहा बोलबमधाममा हरेक वर्षको गुरुपूर्णिमादेखि रक्षाबन्धनसम्म बोलबमधाम जलार्पण तथा श्रावणी मेला हुँदै आएको छ ।
यसैबिच त्रिवेणीबाट जल लिएर पर्रोहा बोलबमधामतर्फ आउँदै गरेको तीर्थयात्रीको टोलीलाई बुटवलमा शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्वागत गर्नुभएको छ ।
जलार्पण यात्रा टोलीमा व्यासाचार्य किशोरकुमार गौतमसहितको करिब ४५० जनाको टोली रहेको छ । पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामका अध्यक्ष चित्रबहादुर कार्कीले पर्रोहा बोलबमधाममा रहेको पुरानो खण्डित नन्दीलाई नारायणी नदीको किनारमा रहेको प्रसिद्ध धार्मिकस्थल गजेन्द्रमोक्षधाममा विधिपूर्वक जलसमाधि गरिएको जानकारी दिनुभयो ।
धार्मिक यात्राले आपसी सद्भाव, आस्था र विश्वास बढाउने विश्वास गरिएको धामका अध्यक्ष कार्कीले बताउनुभयो । हरेक वर्ष साउन महिनाभर पर्रोहा बोलबमधाम मन्दिरको व्यवस्थापन समितिको आयोजनामा विभिन्न प्रसिद्ध तीर्थस्थलबाट जल ल्याएर धाममा जलार्पण गर्ने परम्परा रहेको छ ।
धामका संरक्षक ब्यासाचार्य पण्डित किशोरकुमार गौतम पहेँलो गेरुवावस्त्र धारण गरी बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गङ्गाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो, नदी कटान, भूक्षय जस्ता प्राकृतिक प्रकोप र वर्षायाममा लाग्ने विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने बताउनुहुन्छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend