logo
  • आइतबार, असोज १८ २०८३

एसईईमा उत्कृष्ट नतिजा ल्याउने पाँच सामुदायिक विद्यालय सम्मानित


  • पब्लिक सूचना
  • आइतबार, असार ३१ २०८१

३० असार, काठमाडौं । सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको संगठन प्रिन्सिपल एसोसियन अफ नेपाल (पान) ले एसईई (२०८०) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच वटा विद्यालयलाई सम्मान गरेको छ ।

पानले शनिबार ‘एसईई २०८० को नतिजा तथा सुधारका पक्षहरु’ कार्यक्रममा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौंको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई र उपत्यकाबाट काठमाडौंको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई सम्मान गरेको हो ।

पानका अध्यक्ष सुदाम गौतमले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको मिहेनतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले अब सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई काम गर्न सम्बन्धित पालिकाले सहजीकरण गरिदिँदा शैक्षिक गुणस्तर उकास्न सहज हुने उनको भनाइ छ ।

विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधार गर्नका लागि विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने बताए । उनले भने, ‘विद्यालय जिम्मेवार उत्तरदायी बन्ने हो भने नतिजा सुधार गर्न सकिन्छ भन्ने उदाहरण हाम्रो विद्यालय पनि हो ।’

छलफल कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटकको नतिजालाई हेरेर पालिका तथा विद्यालयले सुधारको लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको नतिजालाई विश्लेषण गरेर कहाँ नेर कमजोर भयो भनेर पालिका तथा विद्यालयले काम गर्नुपर्ने देखिन्छ ।’

पद्मकन्या माविकी प्रधानाध्यापक रीता तिवारीले सामुदायिक विद्यालयको नतिजासँगै अध्ययनरत विद्यार्थीको अवस्था पनि मूल्यांकन गरिनुपर्ने बताइन् । काठमाडौं महानगरपालिकाका सहरी विकास योजना सदस्य शैलेन्द्र झा विद्यार्थीलाई सिकाइसँगै पढाइ, उत्तीर्णको महत्वको विषयमा बुझाउनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend