पब्लिक सूचना
घरबाट तारेर तात्तातै ल्याएको प्याजीको बास्नाले यात्रुहरूलाई आकर्षित गर्छ। निकै ठूलो र आकर्षक प्याजी हेर्दै खाऊँ लाग्ने र जिब्रोबाट पानी छुट्ने खालको हुन्छ।बेच्नेका हातहातमा प्याजी भरिएको ठूलो आरी हुन्छ।
चर्को गर्मीमा पनि रेल आइपुग्ने प्रतीक्षामा प्याजीका कठौती (ठूलो आरी) बोकेर केही व्यक्तिहरू उभिएका हुन्छन्। त्यस दिन अपराह्न पौने चार बजे जनकपुरबाट खजुरी स्टेसनमा रेल आइपुग्यो। प्याजीले भरिएको कठौती बोकेकाहरू लहरै रेलको झ्यालढोकासम्म पुगे। भित्रबाट यात्रुहरूले हात लम्काए। बाहिर उत्रिएका यात्रु कठौतीवरिपरि झुम्मिए।
कठौती रित्तिने देखेर ग्राहकहरू हात लम्काउँदै थिए। ध्रुव मुखियालाई पत्रिका र प्लास्टिक झोलामा प्याजी हालेर दिन भ्याइनभ्याइ भएको देखिन्थ्यो। ध्रुव, उनका छोरा, भतिज र अरूका कठौती छिनभरमै रित्तिए। जनकनन्दनी गाउँपालिका–३ स्थित खजुरी स्टेसनको प्याजी यति चर्चित छ कि रेलयात्रु मात्रै होइन, निकै टाढाबाट पनि मानिसहरू खान आउँछन्।
‘चनाको बेसनमा मुछेर तेलमा तारेर बनाएको पकौडासँग मिल्दो परिकार नै प्याजी हो। सामान्य पकौडाभन्दा प्याजी निकै ठूलो हुन्छ,’ ध्रुवले भने। ध्रुवका छोरा, भतिजा र प्याजी बेच्ने अन्य युवाहरू कठौतीमा प्याजी भरेर दिनमा चारपटक स्टेसन पुग्छन्। अहिले दुइटा रेल दुईपटक जनकपुर–जयनगर चल्छन्। उनीहरू चारपटक रेलमा पसेर प्याजी बेच्न पाउँछन्। जनकपुर–जयनगर रेलसेवा सञ्चालन भएदेखि नै उनीहरूले प्याजी बेच्न थालेका हुन्। स्थानीय भाषामा यसको खास नाम ‘पियाउजी’ हो तर सजिलो उच्चारणले ‘प्याजी’ भयो।
‘धेरैलाई यहाँ फेरि पहिलाकै जस्तो प्याजी पाइन्छ भन्ने थाहा छैन। त्यति बेला रेलवेका धेरै कर्मचारीहरू यहीँ बस्थे,’ ध्रुव भन्छन्, ‘बिस्तारै मान्छेले थाहा पाउँदैछन्। व्यापार राम्रो हुन्छ भन्ने आशा छ।’
प्याजी व्यापारबाट दैनिक घरखर्च चलाएर महिनाको ३० हजार रूपैयाँसम्म बचत हुन थालेको उनले बताए। उनका भाइभतिजाहरू र साथीहरू पनि सबै दिनभरि प्याजी बेच्छन्।
रेल स्टेसनभन्दा दुई सय मिटर पर आफ्नै जग्गामा ध्रुवहरूको एउटा घर छ। आमाबुबा र तीन दाजुभाइ संयुक्त परिवारमा छन्। उनका घरमा दिनभर चारवटा चुला बल्छन्। महिलाहरू प्याजी तार्छन्। पुरूषहरू बेच्न लैजान्छन्।
‘औसत ३० किलोग्राम प्याजको प्याजी बनाउँदैछौं। रेल रोकिनासाथ छोराभतिजाहरू कठौती बोकेर भित्र छिर्छन्। त्यही रेलमा भारतको जयनगरसम्म पुग्छन्। त्यहाँ पुग्दासम्म कठौती रित्तो हुन्छ। त्यही रेलमा फर्किन्छन्,’ ध्रुवकी भाउजू शिवदुलारीले भनिन्। एकपटकमा कम्तीमा दुई जना कठौतीभरि प्याजी बोकेर स्टेसन पुग्छन्। एकपटकमा एक जनाले सय वटासम्म प्याजी बेच्छन् शिवदुलारीका श्रीमान र माइला छोरा रेल चल्नुअघि रोजगारीका लागि मलेसिया पुगेका थिए। उनीहरू उतै छन्। ‘त्यति बेला रेल बन्द नभएको भए यहीँ नास्ता पसल गरेर गुजारा हुन्थ्यो। रेल बन्द भएपछि हामीलाई दिन लाग्यो,’ उनले भनिन्।
शिवदुलारीले आफ्ना ससुरा प्रभु मुखियाबाट प्याजी बनाउन सिकेकी हुन्। प्रभु पुरानो रेलको समयमा प्याजी बेच्थे। प्रभु ७० वर्षका भए। अहिले पनि कठौतीमा प्याजी भरेर रेल स्टेसन पुग्छन्। छोराबुहारीले पनि त्यही पेसा अपनाएका हुन्।
प्याजी व्यापारीहरू सबै भारतको देवधाबाट सामान ल्याउँछन्। उनीहरूका अनुसार भारतीय बजारमा सामान निकै सस्तो पाइन्छ। भारतमा नेपाली रूपैयाँ एक सय २५ मा एक पसेरी (पाँच किलो) प्याज पाइन्छ, नेपाली बजारमा दुई सय रूपैयाँ पर्छ। बेसन, तेल र गहुँको पिठो पनि उतै सस्तो छ।
१९९४ सालमा महोत्तरीको जंगलबाट सखुवाको काठ ओसार्न भारतका अंग्रेज शासकले रेल चलाएका थिए। त्यति बेला जयनगरबाट महोत्तरीको बिजुलपुरासम्म ५२ किलोमिटरमा रेल चल्थ्यो। २०५९ सालमा आएको बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरबाट जयनगर (२९ किलोमिटर) मा सीमित भयो। कोइला इन्जिनपछि डिजेल इन्जिन सुरू भयो। यससँगै सामान र यात्रु ओसारपसार सुरू भएको थियो।
२०७१ माघमा जनकपुर–जयनगर रेल सेवा बन्द भयो। त्यसपछि भारतीय बजार जयनगरसँग यस भेगका बासिन्दाको सम्पर्क पातलियो। यहाँको व्यापार–व्यवसाय बन्द भयो। मान्छेहरू बेरोजगार भए।
रेल सञ्चालनपछि साना व्यवसायीहरूले फेरि आफ्नो भविष्य देखेका छन्। हाल खजुरी लगायतका स्थानमा बन्द भएका साना व्यवसाय फेरि चल्न थालेका छन्। यसैको परिणम हो खजुरीको प्याजी!
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend