पब्लिक सूचना
गलकोट । बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ ।
उक्त अस्पतलमा प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि ठूलो लगानी गरिरहेको छ । दुई सय शय्यामा स्तरोन्नतिको चरणमा रहेको अस्पतालमा प्रदेश सरकारले हालै मात्र सिटिस्क्यान सेवा सञ्चालनमा ल्याएको उनले बताए । गर्भवती महिला, सुत्केरी तथा शिशु स्याहारसम्बन्धी पढाइका लागि प्रदेशको बजेट तथा कार्यक्रममा समावेश गरिएकाले आगामी आवदेखि पढाइ सञ्चालनको तयारी भइरहेको डा प्रधानले जानकारी दिए ।
“यो एसइई दिएपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्ष हो । यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ”, उनले भने, “अस्पतलालाई समेत मेडिकल कलेज बनाउने विषयमा प्रदेश सरकार सकरात्मक छ, बजेट विनियोजन भए पनि कति बजेट भन्ने विषय भने आइसकेको छैन । उक्त विषय अध्यापनका लागि एक सय शय्याको अस्पताल र वार्षिक एक हजार दुई सय सुत्केरी अस्पतालमा हुनुपर्ने हुन्छ ।”
अस्पतालमा सुत्केरी हुनेको सङ्ख्या मापदण्ड अनुसार पुग्नेभए पनि आधिकारिक रुपमा एक सय शय्याको अस्पताल नपुगेको प्रमुख डा प्रधानले बताए । अहिले पनि आधिकारिक रुपमा अस्पताल ५० शय्यामा नै सञ्चालन भइरहेको उनको भनाइ छ ।
अस्पताललाई ५० शय्याबाट स्तरोन्नति गरी दुई सय शय्याको उपप्रादेशिक अस्पताल बनाउन प्रदेश सरकारले पूर्वाधार र उपकरणमा लगानी गरेपनि दुई सय शय्याको अस्पताल कार्यान्वयमा आउन नसकेको डा प्रधानले जानकारी दिए । गण्डकी सरकारले आर्थिक वर्ष २०८१–८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार प्रदेशसभामा चालुतर्फ रु १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात् रु १९ अर्ब ५१ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । प्रदेश सरकारले बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रदेशस्तरीय अस्पताल बनाउने योजना आगामी वर्ष कार्यान्वयनमा ल्याउने जनाएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend