पब्लिक सूचना
चार पटकको विश्वकप विजेता वेस्टइन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा बिना अंक सुपर सिक्स खेल्ने भएको छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिज बिना अंक सुपर सिक्स खेल्ने भएको छ ।

वेस्टइन्डिज समूह चरणमा ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको छ । वेस्टइन्डिजले समूह चरणमा नेपाललाई १ सय १ र अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । जिम्बावेसँग ३५ रन र नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको हो ।
सुपर सिक्समा समूह ए बाट जिम्बावे ४ अंक, नेदरल्यान्ड्स २ र वेस्टइन्डिज अंक विहीन हुँदै जाने भएको छन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोली श्रीलंका, स्कटल्यान्ड र ओमानसँग समूह ए बाट गएका जिम्बावे, नेदरल्यान्ड् र वेस्टइन्डिजबीच प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा आफ्नो समूहबाट गएका टोलीबीच भने प्रतिपस्पर्धा हुनेछैन ।
समूह चरणकै नतिजालाई आधार मान्दै अंक दिईनेछ । त्यसैले सुपर सिक्समा पुगेका नेदरल्यान्ड्स र जिम्बावे दुबै टोलीसँग समूह चरणमा हारेको हुँदा वेस्टइन्डिज अंक विहीन हुँदै खेल्न पुगेको हो । वेस्टइन्डिजले हराएको नेपाल र अमेरिका दुबै समूह चरणबाटै बाहिरिएका छन् । त्यसैको कारण सुपर सिक्समा उक्त जित कुनै काम नलाग्ने भएको हो ।
सुपर सिक्समा अर्को समूहबाट आउने टोलीसँग खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउछन् । समूह चरणबाट ४ अंक ल्याउने टोलीको लागि निकै सहज हुनेछ । समूह बी बाट श्रीलंकाले ४ अंकका साथ सुपर सिक्समा आउने सम्भावना छ । समूह बी मा श्रीलंका र स्कटल्यान्ड तीनै खेलमा ६-६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।
मंगलबार यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता ४ अंक र पराजित हुने टोली २ अंकका साथ सुपर सिक्समा आउनेछ । ओमान भने अंक विहीन हुँदै सुपर सिक्समा आउनेछ । ओमानले हराएका आयरल्यान्ड र युएई दुबै समूह चरणबाट बाहिरिएको हुँदा सुपर सिक्समा अंक विहीन हुँदै आउने भएको हो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend