logo
  • शनिबार, असोज १७ २०८३

सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्रीको तयारी


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २ २०८१

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको संसद् अवरोधले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत सांसदबाट पारित नभएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले बैठक बोलाएर सहमति खोज्ने बताएका हुन् ।

बुधबार बिहान सभामुख र प्रधानमन्त्रीबिचको कुराकानीका क्रममा प्रधानमन्त्रीले बुधबार आजै बेलुकासम्म सत्तापक्षका नेताहरूको बैठक बोलाएर बिहीबार बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका हुन् । त्यसक्रममा सभामुख घिमिरेले सांसदबाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संसद् सुचारु भए केही विधेयकहरू तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको र केही विधेयकलाई समितिमा पठाउन सकिने सभामुख घिमिरेको भनाइ छ । प्रधानमन्त्रीको सचिवालयले आन्तरिक छलफल भइरहेकाले बेलुकासम्म सत्तारुढ दलको बैठक बस्न सक्ने सम्भावना रहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend