पब्लिक सूचना
राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौजले एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको हो ।
प्रिगोजिनको वाग्नर सेनाले रुसको तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्राही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।
तर, शनिबार राति भने विद्रोही कमान्डर प्रिगोजिनले मस्कोतर्फ थप अघि नबढ्न आफ्नो फौजलाई आदेश दिएका छन् । ‘हामी अघि बढेमा थप रक्तपात हुन सक्छ, त्यसैले एउटा जिम्मेवार र देशभक्त शक्तिका रूपमा हामी केही समय लिन चाहन्छौं,’ उनले भनेका छन् । सार्वजनिक भिडियोमा प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेई सोइगु र जनरल वालेरी गारासिमोवलाई चुनौती दिँदै भनेका थिए, ‘म तत्काल भेट्न चाहन्छु, अन्यथा हाम्रो समूह मस्को प्रवेश गर्नेछ ।’ रुसी रक्षा मन्त्रालयले वाग्नर सैन्य कम्पनी बन्द गर्ने ‘षड्यन्त्र’ गरेकाले न्यायका लागि मार्च गर्नुपरेको विद्रोहीको भनाइ छ ।
‘हामी २४ घण्टाभित्रै मस्कोको दुई सय किलोमिटर नजिक पुगिसकेका थियौं, योबीचमा हाम्रो फौजले एक थोपा पनि रगत बगाउनुपरेन, तर अबको यात्रा भने निर्णायक थियो । क्षति जुन पक्षमा भए पनि रगत रुसीहरूकै बग्नेवाला थियो, त्यसैले हामी अब पछाडि फर्कन चाहन्छौं,’ प्रिगोजिनले भनेका छन् ।
वाग्नर सेनालाई संयमित बनाउन बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्कोले मध्यस्थता गरेका छन् । विद्रोहीसँग संवाद गर्ने र अहिलेको विद्रोहको बहानामा कुनै कारबाही हुनेछैन भन्ने प्रत्याभूति प्रिगोजिनले खोजेका थिए । रुसी राष्ट्रपतिले दिएको वचनअनुसार पेरोसेन्कोले विद्रोहीसँग प्रतिबद्धता गरेका छन् । यो अति महत्त्वपूर्ण वार्ताका लागि रुसले आफ्ना सहयोगी पेरोसेन्कोलाई धन्यवाद पनि दिएको छ ।
वाग्नर सेनाको चुनौतीसँगै राजधानी मस्कोलगायतका मुख्य सहर ‘हाई अलर्ट’ मा छन् । राष्ट्रपति निवास क्रेमलिनको सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यस्तै मस्को भित्रिने नाकामा पनि हतियारधारी फौज तैनाथ गरिएको छ ।
तनावबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले पनि स्थानीय बासिन्दालाई घुमघाममा ननिस्कन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आतंकवादविरुद्धको अभियान सुरु भएको यो कठिन समयमा कृपया सकेसम्म घरमै रहनुहोला किनकि अबका केही समय असाधारण हुनेछन् ।’
यसअघि रुसी राष्ट्रपति पुटिनले विद्रोहीहरूलाई विश्वासघाती भन्दै निर्ममतापूर्वक कुल्चने दाबी गरेका थिए । क्रेमलिनबाट टेलिभिजन सम्बोधन गर्दै पुटिनले भने, ‘रुसको अस्तित्वमाथि नै खतरा आइलागेको छ । तर, हामी देश र जनताको जीवन र सुरक्षा, हाम्रो सार्वभौमसत्ता र स्वतन्त्रता तथा हजारौं वर्षको इतिहास भएको रुसको अधिकारका लागि लडिरहेका छौं ।’ उनले जानाजान विश्वासघात र आंतकवादको बाटो हिँड्ने, देशद्रोह गर्ने र ‘ब्ल्याकमेल’ गर्नेहरूले अनिवार्य अकल्पनीय सजाय भोग्ने चेतावनी पनि दिएका छन् । पुटिनले ठाउँठाउँमा ‘मार्सल ल’ लागू गर्ने आदेशहरूमा पनि हस्ताक्षर गरेका छन् ।
उता विद्राही निजी सेनाका प्रमुख प्रिगोजिनले भने विश्वासघात आफूहरूमाथि भएको टिप्पणी गरेका छन् । ‘राष्ट्रपतिले देशद्रोहका कुरा गर्दा गम्भीर गल्ती गर्छन्, हामी त मातृभूमिका लड्ने देशभक्त हौं, हामीले देशका लागि लड्यौं र लडिरहेका छौं, तर हामी भ्रष्टाचार छलले चल्ने नोकरशाहीमा बाँच्न चाहँदैनौं,’ उनले अडियो सन्देशमा भनेका छन् । रुसी सेनाले वाग्नर लडाकुलाई निसाना बनाएर मिसाइल आक्रमण गरेको आरोप उनको छ । तर, रुसी अधिकारीहरूले उनको आरोप गलत भएको जवाफ दिँदै वाग्नरका गतिविधि तुरुन्त रोक्न चेतावनी दिएका छन् ।
विभिन्न अपराधमा जेल बसिसकेका प्रिगोजिन राष्ट्रपति पुटिनका पूर्वसहयोगी पनि हुन् । उनी एक निजी सेनाको नेतृत्व गर्दछन्, जसमा रुसी जेलबाट भर्ती गरिएका हजारौं पूर्वकैदी समावेश छन् । वाग्नर सेनालाई रुसी रक्षा मन्त्रालयअन्तर्गत राख्ने सम्झौतामा हस्ताक्षर गर्न पनि प्रिगोजिनले अस्वीकार गर्दै आएका छन् ।
प्रिगोजिन उनै व्यक्ति हुन्, जसलाई सन् १९८१ मा डकैती र आक्रमणको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो । रिहाइपछि उनी १९९० मा सेन्ट पिटर्सबर्गमा एक रेस्टुरेन्ट व्यवसाय खोलेर बसेका थिए । यस क्रममा उनले पुटिनलाई राम्ररी चिन्ने मौका पाएका थिए ।
आणविक हतियार सम्पन्न रुसको अवस्थालाई पश्चिमा राष्ट्रहरूले सतर्कतापूर्वक नियालिरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सहयोगी राष्ट्रका समकक्षीहरूसँग संवाद गरेका छन् । ‘विकसित घटनाक्रमले रुसी राज्यका लागि सबैभन्दा संगीन चुनौती देखाएको छ,’ बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘यो संकटमा रुसको सुरक्षा बल र विशेष गरी रुसी राष्ट्रिय सेनाले कस्तो भूमिका खेल्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ ।’
विद्रोही फौज अझ आक्रामक भयो भने रुसी सेनाले कसरी सामना गर्छ भन्ने प्रश्न साँच्चै गम्भीर छ किनकि रुसको अधिकांश सेना दक्षिणी तथा पूर्वी युक्रेनमा तैनाथ छ । रुसी सेना घरभित्रै लड्नुपरे युक्रेनमा अस्तव्यस्त हुने र युक्रेनको प्रत्याक्रमण तीव्र हुने विश्लेषण गरिएको छ ।
‘रुसको कमजोरी स्पष्ट छ, पूर्ण स्तरको कमजोरी,’ युक्रेनी राष्ट्रपति भ्लोदीमिर जेलेन्स्कीले सामाजिक सञ्जाल सन्देशमा लेखेका छन्, ‘रसियाले जति लामो समयसम्म हाम्रो भूमिमा आफ्नो र भाडाको सेना राख्छ, त्यति नै अराजकता, पीडा उसैमाथि आइलाग्नेछन् ।’
रुसको पछिल्लो अवस्थालाई लिएर कतिपय विशेषज्ञहरूले पुटिनको नेतृत्वमा सबैभन्दा खराब संकटको संज्ञा दिएका छन् । ‘पुटिन शक्तिमा आएदेखि नै अहिले सबैभन्दा ठूलो संकटको सामना गरिरहेका छन्, रुसी नेतृत्व र व्यक्तिगत रूपमा पुटिनका लागि यो ज्यादै गम्भीर चुनौती हो, पुटिनको साढे २२ वर्षको शासनकालमा यो सबैभन्दा खराब संकट हो,’ मस्कोस्थित स्वतन्त्र सैन्य तथा रक्षा विश्लेषक पाभेल फेल्गेनरले अलजजिरासँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनलाई अहिले ज्यादै प्रभावशाली सैन्य चुनौती दिइएको छ । मलाई के विश्वास छ भने पुटिनले यस पटक आफ्नो जीवनकै लागि लड्नुपर्ने छ ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend