पब्लिक सूचना
16 hours ago
May 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ।
युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो।
डिजाइन अनुसार हालको तल्लो मुलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिने बताइएको छ। जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब-एयर प्रविधि हुनेछ। उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ। डिजाइनमा तल्लो र माथिल्लो मुलपानी मैदान दुवै रहेका छन्।

स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाको लागि ३ सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना रहेका छन। हालको माथिल्लो मुलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहनेछ।
खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मुलपानी क्रिकेट मैदानको आज प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणको लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ।
गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषदले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो। सोही अनुरूप कलेजले आज डिजाइन प्रस्तुत गरेको हो।

खेलकुद मन्त्री श्रेष्ठले यो वर्ष नै यो मैदानको लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकासा हुने संभावना रहेको बताए। उनले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए। यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन्।
सदस्य सचिव घिसिङले यो प्रोजेक्टलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए।
सरकारले मुलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे थियाे।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend