पब्लिक सूचना
काठमाडौं, असार ९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो। सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिस पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गर्नुभयो। सभापति लामिछानेले आफ्नो पार्टी लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उहाँले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो। सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिबीच फाटो ल्याउन ठुला दलले सङ्गठित प्रयास गरिरहे पनि सफल हुननदिने बताउनुभयो।
सभापति लामिछानेले भन्नुभयो, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुनसक्छु कम्तीमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईँसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन।’’
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकलाई सचेत गराउनुभयो। सभापति लामिछानेले भ्रष्टलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिविद्धतासमेत दोहोर्याउनुभएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend