logo
  • शनिबार, असोज १७ २०८३

कस्तो छ अहिले हलमा चलिरहेको ‘बोक्सीको घर- बुझिनँ मैले, बुझाइदेऊ कसैले…’


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख १८ २०८१

गत शुक्रबारदेखि सिनेमा हलमा चलिरहेको ‘बोक्सीको घर’ को गीत हो यो। समीक्षा अधिकारीको स्वरमा रहेको यो गीतले फिल्मको चर्चा बढाउन निकै मद्दत गर्‍यो।

बोक्सीको घरले चर्चा मात्र पाएको छैन, कमाइ पनि राम्रो गरिरहेको छ। वितरक कम्पनी टि–फोक फिल्म्सका अनुसार फिल्मले दुई दिनमा दुई करोड १५ लाख रूपैयाँ कमाएको छ।

यो फिल्म अभिनेत्री केकी अधिकारीको प्रोडक्सन हाउस ‘केकी अधिकारी फिल्म्स’ ले प्रस्तुत गरेको हो। सन् २०१६ मा मञ्चन गरिएको नाटक ‘बोक्सीको घर’ लाई नै फिल्मका रूपमा प्रस्तुत गरिएको हो। नाटक सुलक्षण भारतीले लेखेका र निर्देशन गरेका हुन्।

केकी आफूले नाटक हेरेकै बेला यसलाई फिल्म बनाउने सोचेको बताउँछिन्।

‘मण्डला थिएटरमा बोक्सीको घर नाटक हेरेकी थिएँ। सरिता गिरीको प्रस्तुति थियो,’ केकीले सेतोपाटीसँग भनिन्, ‘हामीले हाम्रो वरिपरि त्यस्ता घटना भएकै छैनन् भनेर कति कुरा नजरअन्दाज गरिरहेका छौं भन्ने महसुस भयो। कुनै महिलाको जीवनमा एउटा घटनाले कतिसम्म प्रभाव पार्छ भन्ने कुराले झकझकायो। यसलाई धेरै दर्शकमाझ पुर्‍याउन फिल्म बनाउने सोचेँ। अहिलेको समय भए यो फिल्म बनाउने सोच्न पनि सक्दिनँ थिएँ होला। कोरोनाको समयमा धेरै सोच्न पाइयो र बनाउन सकियो।’

उनलाई फिल्म पर्दासम्म ल्याउन भने तीन वर्ष लाग्यो। बोक्सीको घरमा बालखको बिहे हुने समयको कथा समेटिएको छ।

फिल्मकी मुख्य पात्र हुन् जुनु अधिकारी।

यो पात्रको बाल्यकालको भूमिकामा सुपला सापकोटा देखिएकी छन्। युवा अवस्थाको भूमिका केकी अधिकारीले निर्वाह गरेकी छन्।

पितृसत्ता हाबी हुँदा महिलाहरूको जीवनमा कसरी नकारात्मक प्रभाव पारिरहेको छ भन्ने यो फिल्मले देखाएको छ। यसका केही दृश्यहरूले दर्शकलाई झसंग पनि बनाउँछ।

उदाहरणका लागि फिल्ममा ७ वर्षीया बालिकाको बिहे हुन्छ र उनका श्रीमानले उनीसँग यौन सम्पर्क राख्छन्।

त्यस्तै अर्काे दृश्यमा एक वयस्क युवती आफ्ना श्रीमानसँग यौन सम्बन्ध राख्न चाहन्छिन्। तर उनका श्रीमानले चाहना राख्दैनन्।

यस्ता केही दृश्यले फिल्म हेरेर सिनेमा हलबाहिर निस्किँदा पनि दर्शकको दिमाग हल्लाइरहन्छ।

त्यस्तै मानसिक उत्पीडनमा परेकी महिलालाई सहयोग गर्नुको साटो उनलाई बोक्सीको संज्ञा दिइन्छ। उनीमाथि अन्याय र दुर्व्यवहार गरिन्छ। यो घटना क्रम फिल्ममा सशक्त तरिकाले देखाइएको छ।

बोक्सीको घरमा केकी अधिकारीको अभिनय तारिफयोग्य छ। कथित ‘बोक्सी’ को चरित्रमा देखिँदा केही अस्वाभाविक लागे पनि समग्रमा उनले आफ्नो भूमिकालाई पूर्ण न्याय गरेकी छन्। बालकलाकार सुपला सापकोटाले त आफूलाई अब्बल नै सावित गरेकी छन्। त्यस्तै रमा थपलिया, सुलक्षण भारती, सुस्मा निरौला, जीवन बराल, स्वेच्छा राउत, सविन बास्तोला लगायत कलाकारको अभिनय पनि राम्रो छ।

नाटक निर्देशन गरिरहेका सुलक्षण भारतीले यसैमार्फत् फिल्म निर्देशनमा डेब्यू गरेका हुन्। नाटकमा जमेका उनले फिल्म निर्देशनमा पनि आफ्नो खुबी देखाउन सफल भएका छन्।

फिल्ममा फ्ल्यास-ब्याक दृश्यहरू अत्यधिक प्रयोग भएका छन्। पर्दामा सानी जुनु र ठूली जुनु एकसाथ देखिन्छन्। उनीहरूको कथा सँगसँगै अगाडि बढ्छ।

यी दृश्यले कतिपय दर्शकलाई भने अलमल गराउँछ।

यसरी दृश्यहरू राख्नुको कारण खुलाउँदै केकी भन्छिन्, ‘यस्तो विषयमा दर्शकलाई बाँधेर कसरी राख्ने भनेर हामीले नयाँ प्रयोग गरेका हौं। फिल्मको कथा त साधारण छ तर प्रस्तुतिको माध्यमबाट केही नयाँ स्वाद दिन सकियो भने दर्शकले घरमा गएर पनि सोच्नुहुन्छ भन्ने हामीलाई लागेको थियो। सरल तरिकाले भन्दा फिल्मले त्यति प्रभाव छोड्न सक्दैन थियो होला। स्क्रिनप्लेमा के अगाडि राख्ने र के पछाडि राख्ने भन्ने कुराले फरक पार्छ।’

फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सोचेभन्दा राम्रो व्यापार गरेकाले आफूलाई खुसी लागेको पनि उनले बताइन्।

‘यो फिल्मले व्यापारिक रूपमा सोचेभन्दा राम्रो गरिरहेको छ। तर जो लक्षित दर्शक हुन्, त्यहाँ अझै पुग्न सकिएको छैन। कतिपय गाउँमा सिनेमा हल नै छैन। त्यहाँसम्म पुर्‍याउन चुनौती छ तर हाम्रो प्रयास रहनेछ,’ केकीले भनिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend