logo
  • शनिबार, असोज १७ २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ‘नीरफूल’ को प्रशंसा गरे


  • पब्लिक सूचना
  • आइतबार, असार १० २०८०

काठमाडौं– दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ ले हाइ प्रोफाइल दर्शकको साथ पाउने क्रम जारी छ । यही मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शनिबार कलाकारहरुसँगै यो फिल्म हेरेका छन् ।

मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ राई तथा बुद्धि तामाङ सिभिल मलस्थित क्यूएफएक्सको हलमा पुगेका थिए । पुरै समय बिताएर फिल्म हेरेका मन्त्री किरातीले फिल्म हेरेपछि यसको प्रशंसा गरेका छन् ।

मन्त्री किरातीले फेसबुकमार्फत तस्बिर सेयर गर्दै फिल्मको प्रशंसामा पोस्ट लेखेका छन् । उनी लेख्छन् – ‘चलचित्र नीरफूल हेरे पछि भुकम्पले सामाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठुलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएर गएको छ । मुख्यतः शहर र गाउँ बीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ ।’

२०७२ सालको भूकम्पको सेटिङमा कथा भनिएको फिल्मले उक्त विपत्तिपछि धादिङको रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र विछोडको दुर्दान्त पेश गर्छ ।

‘फ्यामिली मिसिङ’ को कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको यो फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको छ ।

फिल्मले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समिक्षकहरुबाट प्रसंशा बटुलिरहेको छ ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायतले निर्माण सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend