logo
  • आइतबार, असोज १८ २०८३

इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख १८ २०८१

इलाम–२ को उपचुनावमा नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो।

२०७९ असारमा गठन भएको पार्टीले त्यही साल भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ र समानुपातिक १४ गरी २० स्थान सुरक्षित गरेको थियो।

२०८० वैशाख १० गते भएको उपचुनावमा तनहुँ–१ समेत थप्यो।

त्यसकारण पनि उसलाई प्रमुख प्रतिस्पर्धीकै रूपमा अरू दलले बुझे।

तर इलाम–२ को अन्तिम मत परिणाम आउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत पनि जोगाउन सकेनन्। इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याउँदा रास्वपाका लिम्बूको भने जमानत जोगिएन। उनले ५ हजार ५० मात्रै मत प्राप्त गरे।

यद्यपि इलाम–२ मा रास्वपाले अघिल्लो पटकभन्दा बढी मत प्राप्त गर्‍यो। २०७९ को निर्वाचनमा इलाम–२ मा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ भने इलाम–२ मा रास्वपाको मत ४ हजार ६४६ थियो।

प्रतिनिधि सभामा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाममा ६९ हजार ३७४ मत खसेको थियो। त्यसमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो। ९०२ मत बदर भएको थियो।

इलाम–२ मा रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत १६ उम्मेदवारको जमानत जफत भयो।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend