पब्लिक सूचना
तपाईंहरूलाई हातैले बनाएका डिजाइनदार चप्पल मनपर्छ? त्यो पनि नेपाली उत्पादन!
यस्तै खोज्दै हुनुहुन्छ भने तपाईंका लागि ‘आरा नेपाल’ का स्यान्डल्स र स्लिपर्स उपयुक्त हुन सक्छन्।
नेपाली ब्रान्ड आरा युवा उद्यमी आशंसा थापा र विशाखा राणाले सुरू गरेका हुन्। उत्पादन हुन थालेको दुई वर्ष हुनै लाग्यो।
हाल मासिक कम्तीमा पाँच सय जोडी स्यान्डल्स र स्लिपर्स बेचिरहेको उनीहरू बताउँछन्। आरा चप्पलको सुरूआती मूल्य एक हजार २९९ रूपैयाँ छ। बढीमा दुई हजार ३९९ रूपैयाँको पाइन्छ।
‘डिजाइनर भनेको समयानुकूल आधुनिक हो। बजारमा विदेशी ब्रान्डका महँगा फुटवेयर पाइन्छ,’ सञ्चालकद्वय भन्छन्, ‘हामीले भने उचित मूल्यमा गुणस्तरीय स्यान्डल्स र स्लिपर्स बेचिरहेका छौं।’
विशाखा र आशंसाले आफ्नै डिजाइनमा रेग्जिनका फ्ल्याट्स, वेज, हिल, क्लोज लगायत विभिन्न प्रकारका स्लिपर्स/स्यान्डल्स उत्पादन गर्छन्।
सुरूमा उनीहरू फ्ल्याट्स (हिल नभएको) मात्र बनाउँथे। बजार मागअनुसार विभिन्न प्रकारका हिल भएका पनि बनाउन थालेका हुन्।


‘किफायती भाउमा ठ्याक्कै मिल्ने डिजाइनर फुटवेयर बनाउने सोचले व्यवसायमा लागेका हौं,’ आशंसाले भनिन्, ‘विदेशी फुटवेयर महँगा र राम्रा भए पनि नेपाली पैतालामा नमिल्ने र नसुहाउने हुन सक्छन्। त्यसैले हामी ग्राहकको खुट्टाको बनावटअनुसार, औसत नेपालीको खुट्टामा मिल्ने र सुहाउँदो डिजाइनको बनाउँछौं।’
आराले ग्राहकको माग र रोजाइअनुसार ‘कस्टमाइज’ पनि गर्छ। खुट्टाको लम्बाइ, चौडाइ, मोटाइका आधारमा ट्याक्क मिल्ने चप्पल बनाउनु यसको विशेषता हो। कस्टमाइज गरिएका डिजाइदार फुटवेयर बनाउन जोड दिँदै जाने सञ्चालकहरू बताउँछन्।
अनलाइनबाट अर्डर गरेर आराका उत्पादन किन्न सकिन्छ। आफैं हेरेर किन्न रूचाउनेहरू काठमाडौंको टोखामा रहेको कारखाना जान सक्छन्।
विशाखा र आशंसाले थोरै लगानीमा आरा सुरू गरेका हुन्। उनीहरूका अनुसार जुत्ता-चप्पल बनाउने कच्चा सामग्री महँगो हुन्छ। सुरूमै धेरै लगानी गरेर ठूलो उत्पादन गर्न सम्भव थिएन। त्यसैले ग्राहकबाट अर्डर लिँदै बनाउँथे। यो कामका लागि उनीहरूले चिनजानका एक जना कालिगढको सहयोग लिएका थिए। उनीहरू आफ्नो डिजाइन दिन्थे, कालिगढले बनाउँथे।
हाल आराका सबै स्लिपर्स/स्यान्डल्स आफ्नै कारखानाबाट उत्पादन हुन्छन्। कारखानामा कालिगढसहित आठ जना कर्मचारी छन्।
‘हामीले सुरूमा करिब ९ लाख रूपैयाँ लगानी गरेका थियौं,’ विशाखाले भनिन्, ‘यो पैसा हाम्रो बचतबाट जुटायौं।’
विशाखा र आशंसा यो व्यवसायमा लाग्नुअघि जागिरे थिए। जागिरकै सिलसिलामा २०७५ सालमा उनीहरूको भेट भएको हो। दुवै जना ‘महिला सशक्तीकरण’ का लागि काम गर्ने एक संस्थामा आबद्ध थिए। जागिरबाट दुवै जना सन्तुष्ट थिएनन्। कोरोनाको चौतर्फी असर भएका बेला उनीहरूले व्यवसायबारे सोचे।


‘कामबाट जस नपाएको, अरूका लागि दुःख गरेजस्तो महसुस हुन्थ्यो। आत्मसन्तुष्टि थिएन,’ विशाखाले भनिन्, ‘कोभिडले दिएको फुर्सदमा जागिर छाडेर व्यवसाय गर्ने योजना बनायौं।’
फुटवेयरमा लाग्ने अवधारणा चाहिँ आफ्नै अनुभवको उपज थियो। जागिरमा औपचारिक पोशाक लगाउँदा जहिले पनि जुत्ता/चप्पल नमिलेर दिक्क लाग्थ्यो।
‘औपचारिक पोशाकमा मिल्ने कस्तो जुत्ता/चप्पल लगाउने भन्ने हुन्थ्यो। यस्तो समस्या धेरै महिलाको हो भन्ने लाग्छ,’ विशाखाले भनिन्, ‘आफ्नै व्यवसाय गर्ने हुटहुटी चलिरहँदा डिजाइनर तर किफायती मूल्यमा महिलाका लागि जुत्ता/चप्पल बनाउने सोचेका हौं।’
विशाखा र आशंसा दुवैले जागिर छाडे। मिलेर व्यवसाय सुरू गरे। दुवै घरमा भने आफ्नो नयाँ कामबारे बताएनन्।
‘हामी व्यावसायिक पृष्ठभूमि नभएका घरका हौं। घरमा जागिर नछाड्न सल्लाह दिनुहुन्छ भन्ने सोचेरै योजना सुनाएनौं,’ आशंसाले भनिन्, ‘व्यवसायले एउटा ढाँचा लिएपछि सबैलाई थाहा भयो।’
त्यसपछि दुवैले आआफ्ना घरपरिवारको समर्थन र काममा सहयोग पाए।
सुरूसुरूमा उनीहरू आफैं डेलिभरी दिन्थे। व्यापार बढ्दै गएपछि कर्मचारी राखे। अहिले काठमाडौं उपत्यकाका ग्राहकले २४ घन्टाभित्र र बाहिरकाले तीन दिनसम्ममा सामान पाउँछन्। पोखरा, धरान, इटहरी, विराटनगर, भरतपुर लगायत एक दर्जनभन्दा बढी सहरबाट माग आइरहेको छ। कस्टमाइज गर्ने हो भने चाहिँ दस दिनदेखि तीन हप्तासम्म लाग्छ।
विदेशमा बसेका नेपालीहरूबाट पनि खोजी हुने गरेको छ तर अर्डर लिएका छैनन्। विदेश जानेहरूले भने किनेर लगिरहेका छन्।
आशंसाका अनुसार ‘आरा’ अरबी शब्द हो जसको अर्थ ‘उत्पति र वर्तमान’ हुन्छ। वर्तमानको आवश्यकताअनुसार चल्नुपर्छ भन्ने विश्वासमा आरा सान्दर्भिक लागेको उनले बताइन्।

उनीहरू आफ्नो उत्पादन कति उपयुक्त र गुणस्तरीय भयो भनेर आफैं परीक्षण गर्छन्। नयाँ उत्पादन बजार पठाउनुअघि केही दिन आफैं लगाएर हेर्छन्। उपयुक्त छ भन्ने विश्वास भएपछि मात्रै पठाउँछन्।
‘हातैले बनाउने भएकाले समस्या नहोस् भन्नेमा पूरा ध्यान दिन्छौं। कुनै समस्या देखापरे फिर्ता गरिन्छ,’ विशाखाले भनिन्।
आराले मौसमअनुसार स्लिपर्स र स्यान्डल्स डिजाइन गर्छ, रङमा पनि विविधता छ। विशेषगरी चप्पल भएकाले माग भने गर्मी र चाडपर्वका समयमा बढी हुन्छ।
भविष्यमा बालबालिका र पुरूषका लागि उत्पादन गर्न योजना छ। आराको हाल पसल वा शोरूम छैन। चाँडै पोखरामा पहिलो शोरूम खोल्ने सोचेका छन्।
आरा नेपाली ब्रान्डका रूपमा विस्तार हुने क्रममा रहेको उनीहरू बताउँछन्।
‘फर्केर हेर्दा हामीले धेरै खुट्किला पार गरिसक्यौं। धेरै मेहनत पनि गरेका छौं,’ आशंसा र विशाखा भन्छन्, ‘जागिरबाट भन्दा आफ्नो व्यवसायबाट बढी सन्तुष्टि मिलेको छ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend