पब्लिक सूचना
मास्टरसेफ सन्तोष साह करिब पाँच महिनाअघि बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो।
‘मिथिला थाली’ बाटै बिबिसीको मास्टरसेफ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो। तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ।
त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो। त्यसैले उनले साथीकै रेस्टुरेन्टमा खाना खाने निधो गरे। तर दुई घन्टा कुर्दा पनि ताजा खाना खान पाएनन्।
त्यसपछि जनकपुरधाममा ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गर्ने योजना जन्मिएको साहले बताए।
‘म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ,’ उनले भने, ‘यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौंला भन्ने तयारी थिएन।’
ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ।
मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साह गाउँ पसेयो। यो काममा साहलाई दाइ दिलीपकुमारले सहयोग गरे। तर गाउँमा भनेजस्तो सामान पाउन भने गाह्रो भयो।
‘युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहुने रहेछ। उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो,’ उनले भने।
त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी (चामलको कनिकाबाट बन्ने) र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनले बताए।
साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रूपैयाँ मात्रै भए पनि घर–घरसम्म पुर्याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्धनमा जुटेको बताए।
सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिकेका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्ष मात्रै भएको बताए।
‘चौध वर्ष इन्डियामा काम गरेँ। त्यसपछिका १३ वर्ष लन्डनमा बिताएँ। म भारतीय खानाको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ,’ उनले भने।
जीविका चलाउन अनेकन परिकार बनाए पनि ‘मास्टरसेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ ले नै बनाएको उनको भनाइ छ, ‘त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ।’
उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ। नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउने मात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ।
भारतमा नौ सय भारू तलबबाट जागिरे जीवन सुरू गरेकाका साहसँग यति बेला नाम र दाम दुवै छ। उनलाई नामले मात्रै लाखौं कमाउने अवसर छ। तर उनी त्यतिमै मात्र सीमित हुन चाहँदैनन्।
पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्याउने उनको लक्ष्य छ। उनको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ।
‘यो व्यापार मात्रै होइन, अभियान पनि हो। यसको सफलतासँगै प्रत्यक्ष रूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्,’ उनले भने, ‘ती रेस्टुरेन्टमा एकल महिलाले काम गर्नेछन्। उत्पादनसँग जोडिने भएपछि सयौं गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन्।’
प्रत्येक मिथिला थालीमा एकदेखि तीन रूपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ।
गत असार ६ गते साहले आफ्नी आमाको हातबाट उद्घाटन गराएको मिथिला थालीमा करिब दुई करोड रूपयाँ लगानी भएको छ। त्यसयता थालीप्रतिको मानिसहरूको आकर्षणले साहलाई थप हौसला मिलेको छ। साथै उनको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ।
सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मेका साहले पाँच वर्षको उमेरमा बुवा गुमाए। त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको संघर्ष साहले नजिकबाट बुझेका छन्। एकल महिलाका रूपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गरेका छन्। त्यही संघर्षले खारिएका कारण आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ।
‘सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट भएँ। जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने संघर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो,’ उनले भने, ‘पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्यो।’
अभावै अभावका बीच कक्षा १० सम्म पुगे। त्यसपछि अध्ययन छाडेर १५ वर्षको उमेरमा उनी भारत गएका थिए।
‘एसएलसीमा अनुत्तीर्ण भएँ। अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरूसँग भारत गएँ,’ उनले भने, ‘अरू सीप नभएपछि रेस्टुरेन्टमा भाँडा माझ्न सुरू गरेँ।’
कामबाटै उनले धेरै कुरा सिक्ने मौका पाए। काम गर्दैगर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढे।
‘त्यही कोर्षले जागिरे जीवनको कोर्ष बदल्न सहयोग गर्यो। पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको एक्जुकेटिभ सेफ भएँ। संघर्ष नै सफलताको आधार हो,’ उनले भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend