पब्लिक सूचना
अलराउन्डर सिकन्दर राजाको अलराउन्ड प्रदर्शनमा घरेलु टोली जिम्बावेले आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले हराएको छ । यो जितसँगै जिम्बावे सुपर फोरमा चार अंकका साथ जाने पक्का भएको छ ।

जितको लागि २ सय ६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २ सय ३३ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर कायल मेयर्सले ७२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । अर्का ओपनर ब्रेन्डन किंग २० रनमा आउट भए । निकोलस पुरन ३६ बलमा ३ चौका र २ छक्कासहित ३४, हाई होप ३०, जोनसन चाल्र्स १, ब्रेन्डन किंग २० र जेसन होल्डर १९ रनमा आउट भए ।
जिम्बावेका तीव्र गतिका बलर टेन्डाई चताराले ९.४ ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ४९.५ ओभरमा २ सय ६८ रनमा अल आउट भएको थियो । जिम्बावेका सिकन्दर राजजाले ५८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।
रायन बर्लले ५७ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा आउट भए । ओपनर क्रेग इर्विन ५८ बलमा ७ चौकासहित ४७ र सन विलियम्स २३ रनमा आउट भए ।
वेस्टइन्डिजका किमो पलले १० ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफ र अकिल हुसैनले समान दुई विकेट लिए ।
जिम्बावे ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । समूह ए बाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । जिम्बावेले वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको हुँदा सुपर सिक्समा उसको ४ अंक गणना गरिनेछ ।
जिम्बावेले अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा दुई अंकका लागी नेदरल्यान्ड्स र वेस्टइन्डिजबीचको नतिजा निकै महत्वपूर्ण हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend