पब्लिक सूचना
आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कैद र जरिवाना हुने फैसला भएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार अधिकारीलाई तीन महिना कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो। सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था अनुसार अधिकारीलाई ५० प्रतिशत सजाय थप हुनेछ।
आफूमाथि विभेद गरेको दाबी गर्दै पोखरा २४ की वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो। जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन अनुसार तीन महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो।
०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुट्नुभएका अधिकारीलाई न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले यस्तो सजाय हुने फैसला सुनाएको हो। अब अधिकारीले साढे चार महिना कैद र ७५ हजार जरिवाना र पीडित महिलालाई १० हजार क्षतिपूर्ति दिनुपर्ने छ।
यसअघि जिल्ला जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले एक लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। वडा सदस्य नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै गत ०७९ पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएको थियो।
त्यसलगत्तै प्रहरीले वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो। पोखरा २४ का वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुनुभएको हो भने बाँकी चार सदस्य एमालेबाट निर्वाचित हुनुहुन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend