पब्लिक सूचना
उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको हो ।
हिजो मंगलबार मात्र पैदलयात्रीहरूले सुन ओसारेको जानकारी पाएपछि तीन व्यक्तिलाई पक्राउ गरिएको छ। केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औँठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानीका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिमका ङवाङ लोप्चन तामाङ सुनसहित समातिएका जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
गएको आइतबार पनि १४ लाख ९१ हजार छ सय ८२ मूल्यका सुनका औँठीसहित तीन व्यक्ति पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई सुनसहित भन्सार कार्यालयमा बुझाउने गरिएको ज्ञवालीले बताए ।
नेपाल र चीनको सीमावर्ती गाउँहरूबाट सर्वसाधारण व्यक्तिहरूमार्फत सुन ओसारपसार गराइएको सुरक्षा अधिकारीहरू बताउँछन् । गाउँ र बजार आवतजावत गर्ने सामान्य मानिसहरू प्रयोग गर्दा सुन ओसार्न सहज हुने देखेर तस्करले थोरै परिमाणका सुन बोकाउने गरेको उनीहरूको भनाई छ।
सूचना अधिकारी ज्ञवालीले आफू सरुवा भएर आएको तीन महिनाको अवधिमै चार पटक सुन तस्करीमा संलग्न मानिसहरू समातिएको बताए । केही समयअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरूको स्थलगत अध्ययन भ्रमण गरेको थियो । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरूको अनौपचारिक भ्रमण गरेको आयोगकै एक सदस्यले बताए ।
दसैँ र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको थियो । सूचना अधिकारी ज्ञवालीले पनि आयोगको टोलीले त्यस क्षेत्रको भ्रमण गरेको पुष्टि गरेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend