logo
  • आइतबार, असोज १८ २०८३

रास्वपाका सांसद र उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै शनिबारबाट घरदैलोमा जाने


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर १ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै मतदाताको घरघर जाने भएका छन्।

शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘आम मतदाताको घरदैलोमा गएर सुझावहरू संकलन गर्ने तयारी गरेका छौैं। उहाँहरूको गुनासोहरू सुन्नेछौं,’ बुर्लाकोटीले सेतोपाटीसँग भने, ‘हिजो चुनावको बेलामा हतारमा प्रतिबद्धताहरू व्यक्त गरेका थियौं। पार्टीका सांसद, नेता–कार्यकर्ताको कार्यशैलीबारे नागरिकका मनमा के उठिरहेका छन्, ती सबै सुन्नेछौं।’

उनले रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा जान लागेको बुर्लाकोटीले बताए।
यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने पनि उनले बताए।

‘निर्वाचन क्षेत्रको उम्मेदवारसहित ६ वटै तहको कमिटी परिचालित गर्नेछौं। सुझावहरू संकलन गर्नेछौं,’ उनले बताए।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो। कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो।

त्यस्तै रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेको छ। बैठकमा विशेष गरी पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार–विमर्शको तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend