पब्लिक सूचना
श्रमिकलाई साउदी अरब पुर्याएर अलपत्र पार्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ।
साउदीको रियादस्थित पुर्याएर श्रमिकलाई दुई महिनादेखि अलपत्र पारेको पाइएपछि विभागले दैलेख ओभरसिज प्रालिलाई वैदेशिक रोजगार ऐन २०६३ दफा ६१ (६) र (७) अनुसार निलम्बन गरेको हो।
उक्त म्यानपावरले श्रमिकहरूलाई रियादको अब्दुल्लाह विन एस्सा बिन हमाद अल वेडन जनरल कन्सल्टिङ नामक कम्पनीका लागि पठाएको थियो। त्यहाँ श्रमिकहरूले काम तलब नपाएको र निकै दयनीय अवस्था भोग्नु परेको भन्दै स्वदेश फिर्तीका लागि विभागमा उजुरी परेको थियो।
साउदीस्थित नेपाली दूतावासले अनुगमन गर्दा २५ जना श्रमिकहरूलाई एउटै कोठामा अव्यवस्थित तरिकाले राखिएको, तलब तथा खान पनि नदिएको भेटिएको थियो। केही श्रमिकहरू बिरामी अवस्थामा पनि भेटिएको विभागले जनाएको छ।
यो समस्या समाधान नहुन्जेलसम्मका लागि विभागले उक्त म्यानपावरलाई निलम्बन गरेको हो। अर्को व्यवस्था नभएसम्मका लागि साउदीको उक्त कम्पनीलाई पनि कालोसूचीमा राखिएको विभागले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend