पब्लिक सूचना
इलाम, कात्तिक २१ गते । बजारमा पाइनेभन्दा महङ्गो भएपछि सरकारले उत्पादन गरेको आलुको बीउ लक्ष्यअनुसार बिक्री हुन सकेको छैन । बजारमा प्रतिकिलो ४० देखि ५० रुपियाँमा खरिदबिक्री भइरहेको आलुको बीउको मुल्य सरकारलेचाहिँ प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।
अहिले इलामका बजार र गाउँमा बिटे आलुको बीउ प्रतिकिलो ४० देखि ५० रुपियाँमा किन्न पाइन्छ । तर इलामकै जौबारीमा प्रदेश सरकारअन्तर्गतको फार्म व्यवस्थापन शाखाले उत्पादन गरेको आलुको मुल्य प्रतिकिलो ८० रुपियाँ छ ।
शाखाले जौबारीको सरकारी जग्गामा सरकारी लगानीमा यो वर्ष २५ हजार किलो आलुको बीउ उत्पादन गरेको छ । तर बीउ महँगो भएकाले ११ हजार हाराहारी किलोभन्दा बढी विक्री भएको फार्मका कर्मचारी बालमुकुुन्द पैकराले जानकारी दिनुभयो । ‘यस पटक आलुको माग नै खास आएन’ उहाँले भन्नुभयो, ‘जिल्लाका केही पालिकाले मात्र यो बीउ लगेका छन्, बजारमा पाइनेभन्दा महँगो भएरै हुनसक्छ ।’
फार्ममा दोस्रो पुस्ताको जनकदेव आलु १४ हजार, खुमल उपहार चार हजार, डेजिरे एक हजार आठसय ८० र स्थानीय बिटे आलु चार हजार आठसय किलो उत्पादन भएको शाखाले जनाएको छ । पहिलो पुस्ताको जनकदेव दुई सय ४०, खुमल उपहार एकसय २० र डेजिरे तीनसय २० किलो उत्पादन भएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले यहाँको आलु खरिदका लागि सूचनासमेत निकालेको थियो । तर १० मध्ये तीन पालिकाले मात्रै यहाँको आलु केही मात्रामा खरिदगरी किसानलाई सहुलियतमा वितरण गरेका छन् । जौबारीमै संघीय सरकार वा नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) अन्तर्गतको आलु विकास केन्द्र पनि छ ।
यहाँ उत्पादन भएको आलुको बीउ पनि गुणस्तर हेरी ७५ देखि ८० रुपियाँ प्रतिकिलो विक्री हुँदैछ । केन्द्रका कर्मचारी जनार्दन गौतम यो साल आलु विक्री नभएको बताउनुभयो । ‘यहाँ १० टन आलु उत्पादन भएकामा करिब पाँच टनमात्र विक्री भएको छ’ गौतमले भन्नुभयो, ‘हामीले नयाँबजारको कालिकादेवी कृषि सहकारीलगायत समूहमार्फत् पनि ४० टनजति आलु उत्पादन गरेका छौं ।’
पालिकाले सरकारी नभइ बजारबाटै किनेर किसानलाई केही सहुलियतमा आलुको बीउ बिक्री गरिरहेको छ । इलाम नगरपालिका वडा ४ र ६ ले अहिले किसानलाई २० प्रतिशत साझेदारीमा आलुको बीउ बिक्री गरिरहेको बताएका छन् । वडा ६ का वडाध्यक्ष मदन श्रेष्ठ सरकारी बीउ महँगो भएकाले बजारबाटै प्रतिकिलो ४० देखि ५० रुपियाँमा किनेर २० प्रतिशत साझेदारीमा किसानलाई वितरण गरेको बताउनुभयो । ‘सरकारले सहुलियत दिनुपर्नेमा बजारभाउभन्दा महँगोमा बेच्नु चाहिँ अचम्म छ’ श्रेष्ठले भन्नुभयो ।
इलाम बिब्ल्याँटेका एक व्यापारी प्रतिकिलो ४० देखि ५० रुपियाँमै बिटे आलु बेचिरहेको बताउनुभयो । ‘अहिले गाउँमा आलु प्रशस्त उत्पादन भएको छ’ उहाँले भन्न्ुभयो, ‘हामी ५० रुपियाँसम्ममा आलु बेचिरहेका छौं, सरकारले चाहिँ किन दोब्बर मूल्य तोकेको हो, जान्न सकिएन ।’ कृषि ज्ञान केन्द्र प्रमुख टोनी बर्देवाले केही वर्षअघि नै तोकिएको मूल्य अहिले किसानका लागि बजारभाउभन्दा महँगो परेको बताउनुभयो ।
‘प्रदेश सरकारले आलुको बीउको मूल्य तीन–चार वर्ष पहिला नै तोकेको थियो, यो साल हामीले घटाउन प्रयास गरेका थियौं, तर घटेन’ वर्देवाले भन्नुभयो, ‘पहिला उत्पादन लागत बढी भएका बेला आलुको दर तोकिएको होला, अहिले त्यो भाउले बजारसँग मेल खाएको छैन ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend