पब्लिक सूचना
कलेज प्रशासनले गोजी नभएको पोसाक हुनुपर्ने गरी ‘ड्रेस कोड’ लागु गरेपछि सुरू भएको भैरहवा मेडिकल कलेजका विद्यार्थीको आन्दोलन एक महिना पूरा हुनलाग्दा पनि जारी छ।
गत असोज तेस्रो साता मेडिकल कलेज प्रशासनले गोजी नभएको पहेँलो सर्ट र कालो पाइन्ट हुने गरी ड्रेस कोड लागु गरेपछि चिकित्साशास्त्र स्नातक (एमबिबिएस) र दन्त चिकत्सा स्नातक (बिडिएस) का विद्यार्थीहरू विरोधमा उत्रेका थिए।
यसअघि मेडिकल कलेजले खास किसिमको ड्रेस तोकेको थिएन। विद्यार्थीले आफूखुसी सर्ट पाइन्ट र कालो लेदरको जुत्ता लगाएर एप्रोन लगाउँदा हुन्थ्यो। छात्राले कुर्थासुरुवाल वा अरू ड्रेसमा एप्रोन लगाउँदा हुन्थ्यो।
मेडिकल कलेजले छात्र र छात्रा दुबैका लागि गोजी नभएको सर्ट पाइन्ट हुनुपर्ने गरी ड्रेस तोकेपछि विद्यार्थीहरूले छात्रको लागि सर्ट–पाइन्टमा गोजी हुनुपर्ने र छात्राले कुर्तासुरुवाल पनि लगाउनु पाउनुपर्ने माग गरेका हुन्।

कलेजका प्रिन्सिपल डा. लक्ष्मी पाठकले छात्रछात्रा दुबैका लागि सर्ट–पाइन्ट नै हुने र दुबै गोजीबिनाको हुने अडान लिएपछि विद्यार्थीहरूले विरोध सुरू गरेका थिए।
यसरी ड्रेसको विषयबाट सुरु भएको प्रिन्सिपल पाठक र विद्यार्थी बीचको विवाद एक महिनासम्म हुन लाग्दा पनि सुल्झिएको छैन। प्रिन्सिपलले अडान नत्यागेपछि विद्यार्थीहरूले उनको राजीनामा मागेका छन्।
छात्रछात्रा दुवैका लागि सर्ट–पाइन्ट नै र गोजी बिनाकै हुनुपर्ने ड्रेस कोड फिर्ता लिन माग गर्दै विद्यार्थीहरूले गत असोज २२ गते कलेजमा धर्ना गरेका थिए।
विद्यार्थीको आन्दोलनका कारण पठनपाठन र उपचार सेवा दुबैमा असर परेको छ। विद्यार्थीहरूको आन्दोलनमा आंशिक सेवाका र आवासीय चिकित्सकहरूले समर्थन गरेका छन्।
यी चिकित्सकहरूले काम बन्द गरेपछि बिरामीको उपचार सेवा ठप्प छ।
विद्यार्थीहरूले मेडिकल कलेजको बहिरंग सेवा (ओपिडी) भवनअगाडि रिले अनसन गरेको तीन साता भएको छ। उनीहरूले ओपिडी सेवा बन्द गराएको पाँच दिन भएको छ।
भैरहवा मेडिकल कलेजमा दैनिक कम्तीमा एक हजार बिरामी उपचारका लागि आउने गरेका थिए। बिरामी बोक्ने एम्बुलेन्स र गाडीले भरिभराउ हुने मेडिकल कलेज परिसर एक महिनायता खाली छ।
यसरी उपचार र पठनपाठन बन्द हुँदा पनि मेडिकल कलेज प्रशासन समस्या समाधानतर्फ अग्रसर देखिएको छैन।
विरोधको पहिलो साता ड्रेस कोडसम्बन्धी निर्णय फिर्ता लिनुपर्ने एकमात्र माग राखेका विद्यार्थीले अहिले आफ्नो माग बढाएका छन्। प्रिन्सिपल पाठकको राजीनामाको पहिलो शर्तसहित सातबुँदे माग अघि सारेपछि समस्या झन् जटिल देखिएको छ।
विद्यार्थीहरूले कलेजका अन्तिम वर्षका नियमित कक्षाहरू यथाशीघ्र सञ्चालन गर्नुपर्ने, निस्कासनमा परेका विद्यार्थीहरूलाई बोलाउनुपर्ने, नियमित तथा पूरक परीक्षा आइओएमको प्रावधानअनुरूप हुनुपर्ने, पूर्वाग्रही ढंगले विद्यार्थीलाई कारबाही गर्न बन्द गर्नुपर्ने माग पनि राखेका छन्।
विद्यार्थीहरूले प्रिन्सिपलका विरुद्ध नाराबाजी पनि गर्दै आएका छन्।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पि.एस. का अनुसार कलेज प्रशासनले विद्यार्थीका मागलाई गम्भीर रूपमा लिएको भएपनि प्रिन्सिपल परिवर्तन नहुने बताए।
गत असोज २७ गते स्थानीय प्रशासनको अगुवाइमा भएको सर्वदलीय–सर्वपक्षीय बैठकमा कलेज प्रशासनले ड्रेस कोडको निर्णय स्थगन गर्ने जनाएको भन्दै आन्दोलन फिर्ता लिन पि.एस.ले विद्यार्थीहरूसँग आग्रह गरेका छन्।
विद्यार्थीहरूले भने प्रिन्सिपलको राजीनामा पहिलो र अनिवार्य शर्त बनाएका छन्। विद्यार्थीको शर्तका कारण वर्ता हुन नसकेको उनको भनाइ छ।
मेडिकल कलेजका आंशिक चिकित्सक आशिष सिंह राजपुतका अनुसार प्रिन्सिपलले राजीनामा नदिँदासम्म वा मेडिकल कलेज प्रशासनले उनलाई अन्यत्र स्थानान्तरण नगर्दासम्म आन्दोलन नरोकिने छैन।
उनी भन्छन्, ‘हाम्रो पहिलो माग नै प्रिन्सिपलको राजीनामा वा अन्यत्र स्थानान्तरण हो। त्यो माग पुरा नहुँदासम्म आन्दोलन रोकिँदैन।’
श्रमशोषण गरेको र पूर्वाग्रही ढंगले विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरिएकाले प्रिन्सिपलको राजीनामा अनिवार्य रहेको विद्यार्थीहरूको अडान छ।
सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक साढे १७ हजार रुपैयाँ तोकेको छ। भैरहवा मेडिकल कलेजले भने एमबिबिएस र बिडिएस आंशिक चिकित्सकलाई १० हजार रुपैयाँ मात्र गरेको आन्दोलनकारी विद्यार्थीको आरोप छ।
‘हाम्रा कुनै पनि समस्या नसुन्ने व्यक्ति प्रिन्सिपल हुन सक्दैन,’ अर्का एक जना आंशिक चिकित्सक अशोक पाण्डे भन्छन्, ‘कुनै समस्या लिएर जाँदा म्याडम (प्रिन्सिपल) हाम्रा कुरै नसुनी गेट आउट भन्नुहुन्छ।’
अतिरिक्त क्रियाकलाप र अनुसन्धानका कार्क्रम चलाउन आग्रह गर्दा पाठ्यक्रममा नरहेको भनेर प्रिन्सिपलले बेवास्ता गर्ने गरेको उनको आरोप छ।एमबिबिएस अन्तिम वर्षमा पढ्दै गरेका आन्दोलनकारी एक विद्यार्थीले गोजी राख्न पाए कलेजले तोकेको ड्रेस लगाउन तयार रहेको तर प्रिन्सिपलको हठका कारण आन्दोलन लम्बिएको बताए।
ती विद्यार्थीका अनुसार प्रिन्सिपल पाठकले विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको भनेर सामाजिक झुटो सन्देश प्रवाह गरेकोले पनि उनको राजीनामा माग्न बाध्य भएको बताए।
प्रिन्सिपल पाठकले विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको भनेपछि असोज २८ गते प्रहरीले उनलाई कार्यकक्षबाट बाहिर ल्याएको थियो। त्यस क्रममा आफूहरूमाथि धरपकड र कुटपिट भएको विद्यार्थीहरूको आरोप छ।
भैरहवा मेडिकल कलेजमा आंशिक चिकित्सक सय जना र र आवासीय चिकित्सक १५० जना रहेको जनाइएको छ। एमबिबिएस र बिडिएस गरी करिब ६ सय जना विद्यार्थी छन्।
कलेजका सूचना अधिकारी सुशील गुरुङले कलेज प्रशासनले ड्रेस कोडको निर्णय फिर्ता लिएको भए पनि विद्यार्थीले प्रिन्सिपलको राजीनामा मागेका कारण समस्या समाधान हुन नसकेको बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend