१२ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् उनीहरुले महासचिव गुटेरसलाई स्मरणपत्र दिएका हुन् ।
संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल छ ।
कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरुको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन् ।
उनलाई उद्धृत गर्दै गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालका संयोजक राम भण्डारीले माग सम्बोधनका लागि पहलमा सकेसम्म चाँडो प्रयासहरु गर्ने आश्वासन पाएको बताए । भण्डारीले भने, ‘हामीले अन्य कुराबाट प्रभावित भएर होइन, नेपालको संविधान कानुन बमोजिम संसदबाट यो प्रक्रिया अघि बढ्नुपर्छ भनेका छौं । राष्ट्रसंघ महासचिवले यसलाई सम्बोधन गर्न चासो दिनुहोस् भन्ने अपेक्षा छ ।’