पब्लिक सूचना
९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे
राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप ओखेडाले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताए ।
‘हामी स्वास्थ्यकर्मी दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार भोगिरहेका छौं । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनसकेको छैन’ डा. ओखेडाले अनलाइनखबरसँग भने, ‘आज हामीले सचेतनामूलक र्याली गरेका हौं । हामी कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौं ।’
उनीहरुले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायत प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।
लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।
डाक्टरमाथि हातपात गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend