पब्लिक सूचना
खडेरीले खेतमै मकै सुकेपछि चन्द्रपुरका किसान चिन्तित बनेका छन्।
मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।
सुकेको मकैका बोट काटेर किसानले गाई, बस्तुलाई घाँसको रूपमा दिन थालेका छन्। चन्द्रपुर नगरपालिका–३ गैडाटार किसोरी भट्लेटराईले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए।
उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।’
सबै परिवार कृषिमा आश्रित ६६ वर्षीय सुनमाया मकै डढ्न थालेपछि चिन्तित बनेका छन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्।
उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’
उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको बताए।
चन्द्रपुरमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चन्द्रपुरमा ११ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चन्द्रपुरमा अनुमानित वार्षिक ७४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend