logo
  • शनिबार, असोज १७ २०८३

राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी

अनेसे आशावादी


  • दिपेश घिमिरे
  • बुधबार, असार ६ २०८०

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् ।नेपाल विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेपछि शुक्रबार भारत पुगेको थियो । त्यसयता टोलीले बेंगलोरमै रहेर नियमित प्रशिक्षण गरेको छ । प्रशिक्षक अनेसेले साफ च्याम्पियनसिप २०२३ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा टोलीको तयारी कमजोर रहेपनि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

‘हामीले तयारीका लागि छोटो समय पायौं । म टोलीमा जोडिएको साढे ३ महिना भएको छ । यसक्रममा मैले राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकामा अनुभव लिने अवसर पाएको छु । नेपालको नयाँ युगलाई नेतृत्व गरिरहेको छु । केहि खेलाडी पहिलो पटक यो प्रतियोगिता खेलिरहेका छन्,’ उनले भने ।

नेपालले साफको १४ औं संस्करणसम्म आइपुग्दा सबैमा सहभागिता जनाएको छ । हालसम्म एकपटक मात्र फाइनल पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । अनेसेले साफ च्याम्पियनसिप टोलीका लागि निकै महत्त्वपूर्ण रहेको पनि बताए ।

‘हाम्रो लागि यो प्रतियोगितामा सहभागी हुनु महत्त्वपूर्ण छ । हामीले भारत, पाकिस्तान र कुवेतसँग खेल्दैछौं । म आफैं पनि यो प्रतियोगितामा सहभागी हुन पाएकोमा गर्व गर्दछु । आशा छ हाम्रो प्रदर्शन पनि राम्रो हुनेछ,’ भारतको घरेलु फुटबलमा सफलता हासिल गरिसकेका अनेसेले भने ।अनेसेले आफ्नो आगमनसँगै नेपाली खेलाडीलाई विदेशी लिगको बाटो खोल्न प्रयास गर्ने बताएका थिए । उनले यसपटक भारतीय फुटबलमा आफ्नो खेलाडीलाई क्षमता प्रस्तुत गर्ने राम्रो अवसर रहेको पनि बताए ।

‘हाम्रो लागि यो नयाँ अनुभव पनि हुनेछ । कतिपय खेलाडीका लागि यो भारतीय फुटबलमा आफूलाई प्रस्तुत गर्ने अवसर हुन सक्छ,’ अनेसेले थपे । उनले भारतका क्लबमा नेपाली खेलाडी खेल्न सक्षम रहेको यसअघि नै बताएका थिए ।

नेपालमा रहँदा लिग तालिकाका कारण प्रशिक्षक अनेसेले टोलीसँग राम्रो तयारी गर्न पाएका थिएनन् । थ्री नेसन्स कपपछि तीन पटक रणनीतिक प्रशिक्षण गरेर उनले अन्तिम टोली घोषणा गरेका थिए । पछिल्लो साता भने राम्रो प्रशिक्षण भएको उनले बताए ।

‘टोलीको फिटनेस स्तर राम्रो छ । हामीले रणनीतिक रुपमा धेरै तयारी गर्न पाएका त छैनौं, तर पछिल्लो साता राम्रो भएको छ । मलाई यहाँ निकै राम्रो वातावारण निर्माण भएको महसुस भएको छ र नतिजा आउनेमा सकारात्मक छु,’ उनले थपे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend