logo
  • शनिबार, असोज १७ २०८३

गुल्मीको कालीगण्डकीले विद्यालय बन्द गरे कारबाही गर्ने


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ५ २०८०

गुल्मीको कालीगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित पठनपाठनको हक अधिकारलाई बञ्चित नगर्नको लागि नियमित विद्यालय सञ्चालन गर्न यहाँका सबै विद्यालयलाई अनुरोध गरिएको छ ।

गत भदौ २७ गते सङ्घीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को सम्बन्धमा असहमति जनाई यस गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत संगठनहरुले असोज ३ गतेदेखि गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंमा भइरहेको आन्दोलनलाई सहयोग गर्ने जनाएको थिए ।

शिक्षक कर्मचारीका पीरमर्काका विषयमा पालिका संवेदनशील रहेको भन्दै जायज मुद्दा सम्बोधनमा पालिकाले सक्दो सहयोग गर्ने अध्यक्षले बेद बहादुर थापाले बताउनुभयो । शिक्षकले आफ्नो अधिकार खोज्ने क्रममा विद्यार्थीको अधिकार हननतर्फ सचेत रहन आग्रह गर्नुभयो । शिक्षक तथा विद्यालय कर्मचारीहरुको विषयमा कार्यपालिकामा व्यापक छलफल समेत भएको उहाँले बताउनुभयो ।

नेपाल सरकारको २०६८ जेठ ११ गतेको निर्णयानुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा नं. ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend