पब्लिक सूचना
Soccer Football - Champions League - Group A - Bayern Munich v Manchester United - Allianz Arena, Munich, Germany - September 20, 2023 Bayern Munich's Harry Kane in action with Manchester United's Diogo Dalot and Lisandro Martinez REUTERS/Angelika Warmuth
युरोपेली च्याम्पियन्स लिगको समूह ए अन्तर्गत बुधबार सम्पन्न खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ ले पराजित गरेको छ ।
बायर्नको घरेलु स्टेडियम एलियान्ज एरिनामा भएको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । बायर्नका लागि लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १-१ गोल गरे । युनाइटेडका लागि रासमुस होइलन्डले १ र कासेमिरोले २ गोल गरे ।
सुरुवाती समय देखि नै आक्रामक देखिएको बायर्नले २८औं मिनेटमा युनाइटेड गोलरक्षक आन्द्रे ओनानाको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । सानेको प्रहारमा ओनानाले सजिलै बचाउनुपर्ने थियो । तर उनले बललाई समात्न नसक्दा युनाइटेड पछि परेको थियो ।

बायर्नलाई अग्रता दोब्बर बनाउन धेरै समय लागेन। मात्र चार मिनेट पछि गनाब्रीले जमाल मुसियालाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवाती समयमा युनाइटेडले केही सुधारिएको प्रदर्शन गरेको थियो र एक गोल समेत फर्कायो । होइलन्डले ४९औं मिनेटमा गोल गरे ।

तर बायर्नले मात्र पाँच मिनेट पश्चात नै दुई गोलको अग्रता कायम गर्यो । बक्समा क्रिस्टियन एरिक्सनले ह्यान्डबल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो । पेनाल्टीमा उनकै पूर्व सहकर्मी ह्यारी केनले गोल गर्दै दुई गोलको अग्रता पुनः कायम गरे।
युनाइटेडले ८८औं मिनेटमा थप एक गोल गर्दै खेलको अन्तिम समयलाई रोमाञ्चक बनाएको थियो । कासेमिरोले ८८औं मिनेटमा गोल गरेका थिए । तर थपिएको समयको दोस्रो मिनेटमा युवा खेलाडी म्याथिस टेलले गोल गर्दै फेरि पनि दुई गोलको अग्रता कायम गरे।

लगत्तै तीन मिनेट पछि कासेमिरोले थप एक गोल गर्दै बायर्नको अग्रता घटाए। तर युनाइटेड सँग थप एक गोल गर्दै बराबरी गर्ने समय भने रहेन ।

सोही समुहमा गालाटासरे र एफसी कोपेनहेगनले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका थिए। जितपछि बायर्नको समूहमा तीन अंक भएको छ। गालाटासरे र एफसी कोपेनहेगनको एक-एक अंक छ । पुछारमा रहेको युनाइटेडको भने कुनै अंक छैन ।
के के आयो सोहि दिनको अरु खेलको नतिजा ?

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend