logo
  • शनिबार, असोज १७ २०८३

गिलको शतकका बावजुद भारतमाथि बंगलादेशको रोमाञ्चक जित


  • पब्लिक सूचना
  • शनिबार, भाद्र ३० २०८०

एसिया कप २०२३ अन्तर्गत बंगलादेशले सान्त्वना जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हरायो।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भयो।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीविरुद्ध पहिलो चार बलमा चार रन मात्र खर्चिए। पाँचौ बलमा सामी रनआउट भए।

त्यसअघि ४९ ओभरमा मुस्ताफिजुर रहमानले शार्दूल ठाकुरलाई ११ रन र अक्षर पटेललाई ४२ रन आउट गर्दा ५ रन दिएर २ विकेट लिएका थिए। जसका कारण खेल बंगलादेशको पक्षमा ढल्किएको थियो।

खेलमा भारतका लागि शुभमन गिलले १२१ रन जोडे पनि हारका कारण छाँयामा पर्‍यो। भारतका कप्तान रोहित शर्मा शून्य तथा तिलक बर्मा र केएल राहुल ५-५ रनमा आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो।

बलिङमा बंगलादेशका मुस्ताफिजुरले ३ विकेट लिँदा तान्जिम र मेहदी हसनले २-२ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन जोड्यो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए।

बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे।

यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्। कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend