पब्लिक सूचना
विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेल निकै रोमान्चक अवस्थामा पुगेको छ । चौथो दिनको खेल सकिँदा २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १०७-३ को अवस्थामा छ ।

अन्तिम अर्थात पाँचौं दिन अष्ट्रेलियालाई जितको लागि १ सय ७४ रन आवश्यक पर्दछ । इंग्ल्यान्डलाई ७ विकेट आवश्यक पर्दछ । पाँचौं दिनको पहिलो सेसन दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ।
अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ८१ बलमा ४ चौकासहित ३४ र स्कट बोलान्ड १३ रनमा नट आउट छन् । अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र उस्मान खवाजाले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । डेविड वार्नर ओली रोविन्सनको बलमा विकेटकिपर जोनी बेयरस्टोबाट क्याच आउट भए ।
वार्नरले ५७ बलमा ४ चौकासहित ३६ रन बनाए । चौथो दिन अन्तिम समयतिर स्टिभ स्मिथ ६ र मार्नस लाबुसेन १३ रनमा आउट भएपछि खेल रोचक बनेको थियो । यी दुबै ब्याटर स्टुअर्ट ब्रोडको बलमा आउट भएका थिए ।
दोस्रो इनिङमा इंग्ल्यान्ड २ सय ७३ रनमा अल आउट हुन पुगेको थियो । इंग्ल्यान्डका जो रुट र ह्यारी ब्रुकले सर्वाधिक समान ४६ रन बनाए । ओपनर ज्याक क्रली ७, बेन डकेट १९, ओली पोप १४, बेन स्टोक्स ४३, जोनी बेयरस्टो २० र मोईन अली १९ रनमा आउट भए ।
ओली रोविन्सन २७ र जिमी एन्डरसन १२ रनमा आउट भएका थिए । अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र नाथन लायनले समान चार विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ८६ रनमा अल आउट भएको थियो । ओपनर उस्मान खवाजाले ३ सय २१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ४१ रनको शतकीय इनिङ खेलेका थिए । विकेटकिपर एलेक्स केरी ६६, ट्रविस हेड ५०, स्मिथ १६ र मार्नस लाबुसेन डक आउट भए ।
इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र ओली रोबिन्सनले समान तीन विकेट लिए । मोईन अलीले दुई, जिमी एन्डरसन र बेन स्टोक्सले एक एक विकेट लिए ।
त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलो दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका जो रुट १ सय ५२ बलमा ७ चौका र ४ छक्कासहित १ सय १८ रनमा नट आउट रहेका थिए ।
छैटौं विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । बेयरस्टो ७८ बलमा १२ चौकासहित ७८ रनमा आउट भए ।
ओपनर ज्याक क्रलीले ७३ बलमा ७ चौकासहित ६१ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए । जोश हेजलवुडले दुई, स्कट बोलान्ड र क्यामरन ग्रीनले समान एक विकेट लिए
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend