पब्लिक सूचना
मेस्सीको फ्रि-किक गोलमा अर्जेन्टिनाको जित दक्षिण अमेरिका फुटबल महासंघ (कनमेबोल) अन्तर्गत २०२६ विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको एकमात्र गोलको मद्दतले इक्वेडरलाई १-० ले पराजित गरेको छ।
अर्जेन्टिनाको इस्टाडियो मोनुमेन्टालमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाको एकमात्र गोल मेस्सीले खेलको ७८औं मिनेटमा फ्रि-किक मार्फत गरेका थिए। इक्वेडरका काईसेडोले लौतारो मार्टिनेज लाई बक्स बाहिर लडाएपछि अर्जेन्टिनाले अवसर पाएको थियो। त्यस अवसरमा खरो उत्रिदै मेस्सीले आफ्नो क्यारियरको ६६औं फ्रि-किक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन्।

अर्जेन्टिनाले खेलमा धेरै अवसरहरू भने सृजना गर्न सकेको थिएन। तर फेरिपनि आफ्नो कीर्तिमानी कप्तानको गोलको मद्दतले अर्जेन्टिनाले छनोटमा सुखद सुरुवात गरेको हो। यो गोलसँगै मेस्सीको अन्तराष्ट्रिय फुटबलमा १०४ गोल पुगेको छ जुन फुटबल इतिहासमा तेस्रो सर्वाधिक गोल संख्या हो।
मेस्सीका अगाडि इरानको अलि डेइ १०९ गोल रहेको छ भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १२३ गोलमा रहेका छन्। यस्तै कनमेबोल अन्तर्गत भएका छनोटमा अन्य खेलमा कोलम्बियाले भेनेजोएलालाई १-० ले नै पराजित गर्यो। यस्तै पराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend