पब्लिक सूचना
स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस १८ वर्षपछि आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । ३७ वर्षीय रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा स्पेनिस क्लब सेभियामा पुगेका हुन् ।
उनले सेभियामा १ वर्षको सम्झौता गरेका छन् । रियलमा १८ वर्षको बसाईपछि उनी २०२१ मा पिएसजी पुगेका थिए । पिएसजीमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए । पिएसजीले उनको सम्झौतालाई नविकरण गरेन ।
सन् २००५ मा स्पेनिस महारथी क्लब रियल म्याड्रिडमा जानुअघि रामोसले सेभियाबाटै खेल र व्यवसायिक खेल करिअर सुरुवात गरेका थिए । उनी सेभिलमा हुर्र्किएको र सात वर्षको उमेरमा क्लबको एकेडेमीमा सामेल भएका थिए ।
२००५ मा रियल जानुअघि उनले सेभियाबाट ५० खेल खेलेका थिए । रियलमा १६ सिजनमा उनले ६७१ खेल खेल्दा २२ ट्रफी जित्न सफल भएका थिए । २०२१ मा रियलसँगको सम्झौता सकिएपछि पीएसजीमा सामेल भएका थिए । त्यहाँ उनले दुई सिजन बिताउँदा ट्रफी पनि जित्न सफल भएका छन् ।
‘यो एक धेरै विशेष दिन हो, घर फर्कनु सधैं एक ठूलो आनन्द हो ।’ सेभिया फर्केका रामोसले भने, ‘म फर्केर आउन पाउँदा खुसी छु र राम्रो प्रयास गर्छु, जुन महत्ववपूर्ण कुरा हो ।’ रामोसले ५ ला लिगा, समान ४ च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र स्पेनिस सुपर कोपा, ३ युइएफए सुपर कप, समान २ कोपा डेल रे र फ्रेन्च लिग वान र एक ट्रफी डेस च्याम्पियन्स जितेका छन् ।
रामोसले स्पेनसँग एक विश्व कप र दुई युरोपेली च्याम्पियनसिप जितेका छन् । १६ वर्ष स्पेनबाट खेलेका उनले कीर्तिमानी १८० क्याप जितेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend