पब्लिक सूचना
फिफा विश्वकप कतार २०२२ मा प्रभावशाली प्रदर्शन गरेका मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंगलिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।
२७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन यूरो लोन शुल्क तिर्नेछ । उनलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्ने छ ।
कतारमा सम्पन्न विश्वकप फुटबलबाट चर्चामा आएका अम्रबाटले मोरक्कोको सेमिफाइनल यात्रामा महत्वपूर्ण भूमिका निभाएका थिए । मुख्य रूपमा एक रक्षात्मक मिडफिल्डर रहेका उनले सेन्ट्रल मिडफिल्डरको रूपमा पनि खेल्न सक्छन् ।
यसका साथै युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग डच क्लब उट्रेक्टमा प्रशिक्षण गर्दा अम्रबाटलाई पहिलो पटक सिनियर टिममा खेल्न मौका समेत दिएका थिए । त्यसकारण, टेन ह्याग म्यानचेस्टर युनाइटेडका लागि अम्रबाटलाई अनुबन्ध गर्न धेरै उत्सुक समेत थिए ।
उट्रेक्ट पछि डच क्लब फेयनुर्ड, बेल्जियन क्लब क्लब ब्रुग, इटालियन क्लब हेल्लास भेरोना र फियोरेन्टिनामा आफ्नो क्यारियर व्यतीत गरेका अम्रबाट अब भने प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडका लागि उत्रिने छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend