logo
  • शनिबार, असोज १७ २०८३

भोलि देखि हुन गइरहेको एशिया कपको सम्पूर्ण जानकारी


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १२ २०८०

आशिष लामिछाने ।  एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ सुरु हुन अब दुई दिन बाँकी छ र प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी जनाउँदैछ। एसिया कपको अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानमा छ। कराँचीमा अभ्यास गरिरहेको नेपाली टिम पहिलो खेलका लागि मुल्तान जाने कार्यक्रम छ।

May be an illustration of 5 people and text

सहभागी टिम
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

आयोजक
पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

फर्म्याट
एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो।

खेल समय र प्रत्यक्ष प्रसारण
एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ।

प्रतियोगिताको समूह विभाजन र फाइनल पुग्ने समिकरण
६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

खेल मिति 
भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।

नेपालको पहिलो सभागिता 
यो वर्ष नेपालले एसिया कपमा डेब्यू गर्दैछ। गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो।

छनोट प्रतियोगितामा १० टिमको सहभागिता थियो र फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

नेपाल हाल आइसिसी एकदिवसीय वरीयतामा १५ औं स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ।

नेपालका खेल 
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

भारत र पाकिस्तानको खेल 
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर-फोर र फाइनलमा भिड्न सक्नेछन्। यसो हुन समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर-फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

इंग्ल्यान्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल पाँच विकेटले नै भारतलाई हराएको थियो।

खेल तालिका
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका –  भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्‍तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर –  भदौ २० देखि भदौ २९ सम्म
फाइनल – भदौ ३१

  • सबै खेल नेपाली समयअनुसार दिउँस सवा ३ बजे सुरु हुने
  • नेपालमा स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हेर्न सकिने
  • May be an image of text

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend