पब्लिक सूचना
माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धी सम्झौता भएको छ।
बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरूपमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुंगानाले हस्ताक्षर गरेका हुन्।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा प्याब्सनको सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए।
उनले पछिल्लो समयमा ग्राहकमा चेतनाको कमी र सामान्य त्रुटीका कारण पनि ठूला ठूला वित्तीय अपराधहरू भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरूले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष एवम् गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्नसकेको खण्डमा अझ उपयुक्त हुने भन्दै यसका लागि पहल थालिनु पर्नेमा जोड दिए।
उनले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए।
सोही कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डि.के ढुंगानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ शिक्षा लगायतका विषयहरूलाई समावेश गरेको जानकारी गराउँदै यो सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरूलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend