logo
  • शनिबार, असोज १७ २०८३

ढुङ्गाको सेरोफेरोमा मानव सभ्यता


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ११ २०८०

सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्‍यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।

लामो कालखण्डदेखि ढुङ्गासँगै खेल्दै हुर्कंदै आएका मानव–पुर्खाले समय क्रममा ढुङ्गाको अद्भुत संरचना पनि तयार पार्दै गए। ती संरचनाको रहस्य पत्ता लगाउन नसकेर मानव जातिका सन्तान–दरसन्तान चकित बन्दै आएका छन्। बेलायतमा रहेको स्टोनहेन्ज र मिश्र (इजिप्ट) को पिरामिडलाई मानव निर्मित आश्चर्यजन ढुङ्गे संरचनाको दृष्टान्त मान्न सकिन्छ । स्टोनहेन्ज पूरापूर ढुङ्गाबाट निर्मित संरचना हो भने पिरामिडचाहिँ अधिकतर ढुङ्गा प्रयोग भएको संरचना ।

यी अद्भुत संरचना टनका टन गह्रौँ ढुङ्गा सजाएर तयार पारिएका छन्। आधुनिक युगको क्रेन प्रयोग गर्दा समेत उचाल्न कठिन पर्ने विशाल ढुङ्गा सजाएर तयार पारिएका यी दुई भीमकाय संरचना निर्माण गर्दा अहिलेको जस्तो गह्रुङ्गा वस्तु ढुवानी गर्ने र त्यस्ता वस्तु उचाल्ने अत्याधुनिक प्रविधिको विकास भएको छनक कतै पनि पाइँदैन।

त्यस्तो अवस्थामा पनि दसौँ टन गह्रुङ्गा ढुङ्गाको अद्भुत संरचना कसरी तयार भए ? यसको रहस्योद्घाटन हालसम्म हुन सकेको छैन। यी संरचना कसरी तयार पारिए भन्ने तथ्य अझै पनि रहस्यकै गर्भमा रहे पनि यिनीहरू कति पुराना हुन् भन्ने चाहिँ पत्ता लागेको छ। हिस्ट्री वेबसाइटमा प्रकाशित लेखका अनुसार बेलायतस्थित स्टोनहेन्ज र मिश्रको पिरामिड क्रमशः पाँच हजार र चार हजार पाँच यस वर्ष पुराना मानिन्छन्।

प्राचीनकालको ढुङ्गे संरचनाको चर्चा गर्दा मध्यअमेरिकी ‘माया सभ्यता’ को प्रतीक मानिने ‘मेक्सिकन पिरामिड’ हरूलाई रहस्यमय संरचना मान्ने गरिन्छ। ती भीमकाय पिरामिडमा वास्तुकला र इन्जिनियरिङको बेजोड नमुना भेटिन्छन्। यी पिरामिड इपू १००० देखि ४०० बनेको ‘हिस्ट्री’ वेबसाइटमा उल्लिखित छ । यी पिरामिडको रचनागर्भबारे धेरै कुरा खुल्न बाँकी छ।

यसै गरी भारतको महाराष्ट्रमा पत्थरिलो पहाड काटेर तयार पारिएको अजन्ता गुफा रहस्यमय छ। युनेस्को वेबसाइटमा प्रकाशित सामग्रीका अनुसार यी ढुङ्गे गुफा दुई चरणमा बनेका थिए। पहिलो, ईपू दोस्रो शताब्दी। दोस्रो, इस्वीको पाँचौँ र छैटौँ शताब्दी। विश्व सम्पदा सूचीमा समेत परेका यी गुफाका भित्तामा हिन्दु, बौद्ध तथा जैन धर्मका अमूल्य कलाकृति भेटिन्छन्, जसमा कलाचेतना र धैर्यताको विशिष्ट दृष्टान्त भेटिन्छ।

आधुनिक युगमा विज्ञान र प्रविधिको उच्चतम प्रगति देखेर मगनमस्त हुने हामी प्राचीनकालका निर्मित ती तमाम ढुङ्गे संरचनाको रचनागर्भ, वास्तुचेतना, वास्तुसिल्प, कलाचेतना, कल्पनशील, धैर्य र त्यसमा प्रयुक्त रैथाने प्रविधिमा निहित जादुमय शक्तिका अघिल्तिर नतमस्तक नभई सुखै छैन । यी ढुङ्गे संरचनाबारे विद्वान्हरूबीच अनेकन गहकिला चर्चा परिचर्चा भइरहेका छन् तर पनि यिनीहरूसँग जोडिएका रहस्यको पेटारो सजिलै खुल्ने छाँटकाँट अझै देखिँदैन।

लोकजीवन र ढुङ्गा

मानव सभ्यतासँग युगीन साइनो जोडिएको ढुङ्गालाई लोकजीवनले कहाँ त्याग्न सक्छ र ? त्यसो त ढुङ्गा संसारकै पुरानो निर्माण सामग्री हो। आधुनिक निर्माण सामग्री ट्रक चढेर आउनुभन्दाअघि गाउँघरमा प्रमुख  निर्माण सामग्री ढुङ्गा नै थियो। बाइसे चौबिसे शासनकालमा निर्मित असङ्ख्य किल्ला तथा गढीका मुख्य निर्माण सामग्री ढुङ्गा नै थिए । विगतमा मन्दिर, घरगोठ, चौतारी, ढाँटी पौवालगायत हर प्रकारका संरचनामा ढुङ्गा नै प्रमुख निर्माण सामग्री थिए।

ग्रामीण जीवनका सबैजसो पाटो र पोयोहरूमा व्यापक किसिमले ढुङ्गाले साइनो गाँसेको हुन्छ। यसको पुस्ट्याइँका लागि अनेकन दृष्टान्त पेस गर्न सकिन्छ। मसला पिँध्ने सिलौटोसँग हामी सबै परिचित छौँ, जो ढुङ्गाबाट बनेको हुन्छ। ढिकी कुट्न प्रयोग हुने ओखल ढुङ्गबाटै बनेको हुन्छ । जाँतो पनि ढुङ्गबाटै बनेको तथ्य सर्वविदितै छ । अन्न पिस्ने पानीघट्ट ढुङ्गाबाटै बनेको हुन्छ। विगतमा कुखुरालाई पानी खुवाउन पनि ढुङ्गा खोपेर टोड्का तयार पारिन्थ्यो। त्यति मात्र कहाँ हो र ? सलाई र लाइटरको सहज पहुँच हुनुभन्दा अघि चकमक नामक एक प्रकारको पत्थर प्रयोग गरेर आगो पार्ने गरिन्थ्यो।

ढुङ्गासँग मानवीय साइनो सतत र अनन्त छ। हिमाली क्षेत्रमा ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर शकुन निम्त्याउने चलन छ। कतिपय मन्दिरको मौलो ढुङ्गाबाटै बनेको हुन्छ। विगतमा मन्दिरमा घण्टा झुन्ड्याउने खम्बा र डाँडी पनि ढुङ्गाकै हुन्थे। गाउँघरका कतिपय घरमा ढुङ्गाकै तगारो हुन्छ, जुन अद्यापि भेटिन्छ । यसका अतिरिक्त हँसिया, बन्चरोजस्ता फलामे हतियार उध्याउनका लागि आँगनमा ढुङ्गा राखिन्थ्यो। यसबाट उखानै जन्मिएको छ, ‘टाढाको आरनभन्दा नजिकको हँसिया उध्याउने ढुङ्गा जाती’ ।

ढुङ्गेधारा हाम्रो मौलिक पहिचान हो। यद्यपि आधुनिक विकासे धाराले ढुङ्गेधारालाई बिरानो तुल्याइदिएको छ। हिजोका दिनमा ती ढुङ्गेधारा भेटघाट र वार्तालापका लागि बेजोड किसिमका सार्वजनिक वृत्त बनेको थियो। ढुङ्गेधारामा पँधेर्नीलाई गाग्री बिसाउन सजिलो होस् भनी गग्रेटो निर्माण गरिन्थ्यो, जुन ढुङ्गाबाटै बनेका हुन्थे । गाउँका छोरीचेलीले आफ्ना कुर्कच्चालाई कुखुराको अन्डाजस्तै आकर्षक बनाउन पँधेराको ढुङ्गामा घोट्थे। कुर्कच्चा घोट्दा घोट्दा ढुङ्गामा खोपिल्टो बन्थ्यो।

विगतमा ढाक्रे जीवन र ढुङ्गाबीच गहिरो साइनो हुन्थ्यो। ढाकर बोकेर लामो यात्रामा निस्कँदा बाटोमा बास पर्ने गथ्र्यो। त्यो जुग बेग्लै थियो। होटलको कुनै सुविधा थिएन। ढाक्रेहरूले ढुङ्गा जोडेर अगेनो तयार पार्थे। ढुङ्गाको ओदानमा गुन्द्रुक–ढिडो पकाएर भोको पेट भर्थे । रुखोसुखो गास टिपेपछि राति ढुङ्गाकै सिरानी हालेर चौतारी वा ढाँटीमा मिठो निद्रामा आलिङ्ग हुन पुग्थे। ढाक्रेले ढुङ्गाको सिरानीमा रात बिताउँदा गाउँघरमा कतिपय गर्भवतीले ढुङ्गा खाने गर्थे।

हाम्रा पितापुर्खाले कसैको आर्थिक तथा प्राविधिक सहयोगबिनै गाउँबस्तीमा ढुङ्गा छापेर बनाएका सिँढीदार बाटो बनाए, जो विनाशकारी आधुनिक बाटोघाटोभन्दा कैयौँ गुणा वातावरणमैत्री र विशिष्ट थिए। पश्चिमा प्रविधि र धेरै रकम खर्चेर आयात गरिएका निर्माण सामग्रीको प्रयोगबिना निर्मित यस्ता सिँढीदार बाटोले हाम्रा अग्रजहरूका अविश्रान्त जोश–जाँगर  कर्मप्रतिको समर्पणभावको कथा कहिरहेको छ। यससँगै त्यसले स्थानीय स्रोतसाधन र सिपको दरिलो किसिमले साक्षी पनि बकिरहेको छ।

पुरानो समयमा ढुङ्गाखानीबाट निकालिएका सलखालो ढुङ्गाले छाएको घरमा बस्नु इज्जत प्रतिष्ठाको विषय हुन्थ्यो। ढुङ्गाले छाएको घर सम्पन्नता प्रतीक (स्ट्याटस सिम्बोल) बन्न पुग्थ्यो। बहुसङ्ख्यकले ढुङ्गाले घर छाउन सक्दैनथे। खरले छाएको घरमा बस्ने बहुसङ्ख्यक मानिसका अगाडि ढुङ्गाले घर छाएका परिवारको बेग्लै शान–सौकत रहन्थ्यो, जसबाट समाजमा नयाँ सम्भ्रान्त वर्ग उदाएको अनुभूति मिल्थ्यो। अचेल यसको नयाँ संस्करण देखा परेको छ। आधुनिक घरमा अनेकन प्रकारका स्लेट तथा मार्बल प्रयोग गर्ने प्रवृत्तिको ग्राफ निरन्तर उकालो लागिरहेको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend