चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।
आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।
बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए
बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रले नै कठिन परिस्थिति व्यहोर्न सक्ने आकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्याएकाेले खाद्य आपूर्ति श्रृंखलामै असर पुग्ने बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।
स्थानीय कृषक झाओ लुझाङ भन्छिन्, ‘हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन । यसको असरको मूल्यबारे कुरै नगरौं । बाढी आउँदा निकै रोएँ’, उनले भनिन् ।
बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिक नै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाई यसले धक्का पुर्याउने जानकारहरुको मत छ । दशक यताको तथ्यांक हेर्दा चीनले गर्मीयाममा मासिक ६ देखि आठ पटक बाढी बेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ ।
जलवायु परिवर्तनबारे चिनियाँ विज्ञ झाओ लि भन्छिन्, ‘तापमानमा उच्च वृद्धि नै बढी बाढीको कारक हो । तापमान उच्च हुँदा वाष्पीकरण ज्यादा हुन्छ । वातावरणमा आर्द्रता बढ्दा अझ धेरै वर्षा तथा आँधी तुफानको संभावना हुन्छ।’
राष्ट्रसंघको मापदण्ड अनुसार ग्रीन पिसले चीनमा गरेको अनुसन्धान अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने छ र बाढीको संख्या पनि बढ्नेछ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमकाे सामना गर्नेछन् ।
चीनको जल तथा मौसम विज्ञान निकाय अनुसार सन् १९९० दशकको मध्यतिरबाटै चीनमा तापमान वृद्धि सुरु भएको थियो । यति हुँदा पनि मानिसहरुले नचेत्दा अहिलेको स्थिति आएको वातावरणविद् झाओ बताउँछन् । ‘चीनले अझै खराबस्थितिको सामना गर्नै बाँकी छ । सय वर्षयताकै ठूलो वितण्डता चीनले देख्नेछ’, उनी भन्छन् ।
चीनले कहिले लामो खडेरी त कहिले अप्रत्याशित बाढीको सामना गरिरहेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काम नगरेमा अझै खराब परिस्थिति निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।