logo
  • शनिबार, असोज १७ २०८३

मध्यपहाडी लोकमार्ग क्षतविक्षत ठेकेदार बेखबर


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १० २०८०

रुकुमपूर्व, भदौ १० गते । वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति नै क्षति पुर्याइरहेको छ । दिनैपिच्छे साना–ठुला पहिरोले मध्य पहाडी लोक मार्गको रुकुमपूर्व सडक खण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।

वर्षा हुने बित्तिकै ठाउँ–ठाउँमा पहिरो झर्ने गरेकोले सडक अवरुद्ध हुँदा यात्रुहरूले दुःख झेल्नु परिहरेको हो । मध्य पहाडी लोक मार्ग रुकुमपूर्व खण्डमा ५५ किलोमिटर रहेको छ । जसमध्येमा जिल्लाको भूमे गाउँपालिका–१ लुकुम देखि सिस्ने गाउँपालिका–६ रुकुमकोट स्थित रानी कोट सम्मको ३५ किलोमिटर कालोपत्रे गरिएको छ । भने रानी कोट देखि रुकुम पश्चिमको सिमाना खोपिचार सम्मको ७ किलोमिटर र भूमे गाउँपालिका–१ लुकुम देखि बागलुङको सिमाना यीरनेता (पातिहाल्ने) सम्मको १३ किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गरिएको छैन । कालोपत्रे भएको सडक खण्ड पनि आयोजना कार्यालयलाई ठेकेदारले हस्तान्तरण गरेको छैन ।

कालोपत्रे गरिएको र नगरिएको विभिन्न ठाउँमा पहिरो खसिरहेको छ । तर, सडक निर्माण सेवाका ठेकेदार भने बेखबर रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । हाल लगातार वर्षा भइरहेकोले पहिरो पनि लगातार गइरहेको प्रजिअ शर्माले बताउनुभयो । पहिरो जर्दा यात्रु अलपत्र पर्ने गरेका छन् । साथै एक ठाउँको पहिरोको कारणले अर्को ठाउँमा माटो सहितको सडकमा पानी बग्दा अर्को ठाउँमा पनि पहिरो जाने गरेको शर्माले सुनाउनुभयो ।

पहिरो हटाउने र पहिरो जान नदिन माटो सहितको सडकमा बग्ने पानीलाई पहिरो नजाने ठाउँमा निकासी गरिराखियो भने अन्य ठाउँमा हुने सडक क्षति हुनबाट जोगाउन सकिने प्रजिअ शर्माले बताउनुभयो । तर, दुःखको कुरा सडक निर्माणको लागि जिम्मा लिएको ठेकेदार सम्पर्क विहीन भएपछि अवरुद्ध सडक खुलाउन र पहिरो रोक्न स्थानीय सरकार र जिल्ला प्रशासनलाई गाह्रो भइरहेको शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “अवरुद्ध भएको सडकलाई सडक आयोजना कार्यालय दैलेख, जिल्लाको स्थानीय सरकार र जिल्ला प्रशासनको पहलमा जसोतसो पहिरो हटाई सडक सञ्चालन गरिराखेका छौँ ।” यद्यपि ठेकेदार सम्पर्कमा हुने भए पहिरो हटाउने र सडकमा बग्ने गरेको पानीलाई ठेकेदारले पन्छाई राख्यो भने सडक क्षति हुनबाट बच्ने प्रजिअ शर्माले बताउनुभयो । हाल सम्म स्थानीय सरकारका जेसिभी र सडक आयोजनाको इन्धन सहयोग र प्रशासनको पहलमा अवरुद्ध सडक खुलाई सञ्चालन गरी राखिएको शर्माले बताउनुभयो ।

प्रजिअ शर्माले भन्नुभयो, “ठेकेदार आफ्नो कार्यक्षेत्रमा छैनन् फोन गर्दा उठाउँदैनन् । सडक दिनैपिच्छे पहिरोले अवरुद्ध हुन्छ सडक खुलाउन हाम्रो काँधमा आएको छ ।” आयोजना कार्यालय दैलेखका इन्जिनियर होमनाथ पौडेलका अनुसार आयोजना कार्यालयले पनि ठेकेदारलाई आफ्नो कार्य क्षेत्र नछोड भनी निर्देशन दिइराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर, ठेकेदार आफ्नो कार्यक्षेत्रको सम्पर्कमा बस्दैनन्, हामीले पटकपटक ताकेता गरिराखेका छौँ ।”

भूमे गाउँपालिका–१ देखि बागलुङ यीरनेता सम्मको १३ किलोमिटर खण्डमा भारत महादेव सिद्धि शाही जेभीले कालोपत्रेको लागि जिम्मा पाएको छ । यस खण्डमा कालोपत्रे तयारीको काम हाल अलपत्र अवस्थामै रहेको छ । यसै गरी सिस्ने गाउँपालिका–६ रानी कोट देखि रुकुम पश्चिमको सिमाना ७ किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले पनि कालोपत्रेको काम अलपत्र पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend