logo
  • शनिबार, असोज १७ २०८३

पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र ८ २०८०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्।

शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ।

सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउन कोशिश गरेको अभियोग लागेपछि उनले आत्मसमर्पण गरेका हुन्।

जेल चलान भएको २० मिनेटमा उनी जमानत तिरेर रिहा भएका छन्। सिएनएनका अनुसार औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेका छन्।

ट्रम्पको मग सट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ।

सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मग सट सार्वजनिक भएको यो पहिलो घटना हो। ट्रम्पले आत्मसमर्पण गरेको भने यो चौथो पटक हो।

ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ।

निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको विषयमा एक महिनाअघि  डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता भएको थियो।

४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको र रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेको उल्लेख गरिएको छ।

अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट फेरि राष्ट्रपति उम्मेदवार बन्ने दौडमा छन्। अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो।

२०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। तर उनले पराजय सहजै स्वीकारेनन्।

चुनावमा धाँधली भएको र आफूलाई हराइएको उनले आरोप लगाइरहे।

सन् २०२१ को जनवरी ६ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए।

बाइडेनलाई निर्वाचित भएको प्रमाणपत्र दिन नदिन उनीहरू हुलहुज्जत गर्दै संसद भवनभित्र पसेका थिए।

उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

उक्त आरोपमा जेलमुक्त भएपछि उनी न्यू जर्सी पुगिसकेका छन्। त्यहाँ पुगेर उनले आफू निर्दोष रहेको बताएका सिएनएनले उल्लेख गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend