logo
  • शनिबार, असोज १७ २०८३

अल नासर अप्रत्याशित पुनरागमन गर्दै च्याम्पियन्स लिगमा छनोट


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ६ २०८०

हारको संघारमा पुगेको स्थितिबाट खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा छनोट हुन खेलिएको प्लेअफमा अल नासर ८७ औं मिनेटसम्म २-१ ले पछाडी थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । अल नासर पछिल्लो तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो ।

अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे । पराजित शबाब अल-अहलीका लागि याह्या अल-घासानीले दुई गोल गरेपनि टोलीलाई जित्सम्म पुर्याउन सकेनन् ।

सुरुवाती अग्रता जोगाउन असफल भएपछि अल-नासरले जित सुनिश्चित गर्न निकै संघर्ष गर्नुपरेको थियो । खेलको ११ औं मिनेटमा टालिस्काले ब्रोजोभिचको उत्कृष्ट पासमा हेड गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर अल–नासरले अग्रता धेरै बेर टिकाउन सकेन ।

सात मिनेटपछि अल-अहलीले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । मानस डाबरले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छक्काउँदै दिएको पासलाई अल-घासानीले गोलपोस्टको दिशा दिँदै खेल बराबरीमा ल्याउन सफल भए ।

दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल-अहलीले खेलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा याह्या अल-घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

क्रिस्टियानो रोनाल्डो र सडियो माने आक्रमणमा रहेको अल-नसार त्यसपछि निकै आक्रमक प्रस्तुत भयो । लगातारको आक्रमण असफल भएपनि निर्धारित समयको ३ मिनेट बाँकी रहँदा अल नासर खेलमा बराबरी गोल गर्न सफल रह्यो

सुल्तान अल-घानमले ८८औं मिनेटमा अयमान याह्याको क्रसमा शक्तिशाली हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । थपिएको समयको छैटौं मिनेटमा टास्लिकाले अयमन याह्याको क्रसमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अघि बढाए ।

त्यसको दुई मिनेटपछि मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे । पराजित अल-अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend