पब्लिक सूचना
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न एकमात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १-० ले पराजित गरेको छ ।सङ्घर्षपूर्ण जित निकाल्ने क्रममा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए । खेलको ६७औं मिनेटमा ताकेहिरो टोमियासु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । उनले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनलले दोस्रो हाफको अधिकांश समय १० जनाले खेल्न बाध्य भएको थियो ।

ओडेगार्डले खेलको ५४औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त बन्न पुग्यो ।
क्रिस्टल प्यालेसका गोलरक्षक स्याम जोनस्टोनले आर्सनलका स्ट्राइकर एडि एनकेटियामाथि पेनाल्टी बक्सभित्र फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । र पेनाल्टीमा कप्तान ओडेगार्डले कुनै गल्ति गरेनन् ।
खेलमा दुवै टिमले गोल गर्ने अवसरहरू पाएका थिए तर त्यो अवसरहरूको सदुपयोग भने गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै आर्सनलका बुकायो साकाको प्रहार प्यालेस डिफेन्डरलाई लागेर बाहिरियो । २९औं मिनेटमा बूकायो साकाको पासमा ऐनकेटियाको प्रहार गोल्पोस्टमा लाग्न पुग्यो ।
३६औं मिनेटमा ऐनकेटियाले सुनौलो अवसर खेर फाले । डेकलन राइसको पासमा ऐनकेटियाले बललाई गोल्पोस्टको दिशा देखाउन सकेनन् । ४२औं मिनेटमा ओडेगार्डको प्रहार जोनस्टोनले सुन्दर बचाउ गरे । ५५औं मिनेटमा प्यालेसका आन्द्रे आयुले पाएको अवसरमा सटलाई गोलको दिशा देखाउन सकेनन् ।
८६औं मिनेटमा मिचेलको क्रसमा एडुवार्डको हेडर पोस्टभन्दा केही टाढाबाट बाहिरिएपछि प्यालेसले बराबरी गर्ने मौका खेरा फालेको थियो । दुई चरणको खेल सकिँदा सम्म आर्सनलले दुई जित सहित छ अंक जोडेको छ भने दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend