logo
  • शनिबार, असोज १७ २०८३

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३ २०८०

स्पिनर आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा युएईले टेस्ट टोली न्युजिल्यान्डमाथि दोस्रो टि२० आई खेलमा ७ विकेटको ऐतिहासिक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । युएईले कुनैपनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो ।

जितको लागि १ सय ४३ रनको मध्यम विजयी पछ्याएको युएईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासिमले २९ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनको योगदान दिए । वासिमलाई दुई जीवनदान दिनु न्युजिल्यान्डलाई भारी पर्यो ।

चौथो ओभरको पहिलो बलमा काइल जेमिसनले थर्डम्यानमा वासिमको क्याच ७ रनमा छाड्दै जीवनदान दिएका थिए । वासिमलाई नवौं ओभरको अन्तिम बलमा बेन लिस्टरले थर्डमै ४१ रनमा क्याच छोड्दै अर्को जीवनदान दिएका थिए ।

पहिलो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका युवा ओपनर अर्यांश शर्मा पहिलो ओभरमै शुन्यमा आउट भए । टिम साउथीको बलमा फस्ट स्लिपमा निशमले एक हातले सानदार क्याच लिएका थिए ।

आसिफ खान २९ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे । वृत्य अरविन्द २१ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । बासिल हामिद १२ रनमा नट आउट रहे । न्युजिल्यान्डका टिम साउथी, मिचेल सान्टनार र काइल जेमिसनले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

न्युजिल्यान्डका युवा ब्याटर मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । च्यापम्यान बाहेक कुनैपनि न्युजिल्यान्डका ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले तेस्रो ओभरमै प्रमुख ब्याटर टिम सिफर्टलाई ७ रनमा बोल्ड आउट गरेका थिए । त्यसपछि बायाँ हाते स्पिनर आयन खानले न्युजिल्यान्डको शीर्षक्रम ब्याटिङ ध्वस्त पारे । आयनले पाँचौं ओभरमा लगातार दुई विकेट लिएपछि न्युजिल्यान्डले पावर प्लेमै संघर्ष गर्न पुगेको थियो ।

विकेटकिपर डेन क्लेभरलाई १ र मिचेल सान्टनारलाई आयनले शून्यमा बोल्ड गर्दै लगातार दुई विकेट लिएका थिए । स्पिनर मोहम्मद फराजुदीनले कोले म्याकोन्चीलाई ९ रनमा आउट गराए । आयनले ओपनर चाद बोवेसलाई २१ रनमा स्टम्पिङ आउट गराएका थिए । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

काइल जेमिसन ८, टिम साउथी ४ र रचिन रविन्द्रले २ रन बनाए । युएईको जितमा आयन खानले ४ ओभरमा २० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend