logo
  • आइतबार, असोज १८ २०८३

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी एसियन ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३ अवार्डले सम्मानित


  • पब्लिक सूचना
  • बिहिबार, साउन ३२ २०८०

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डले ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ।

दुबईस्थित म्युजियम अफ द फ्युचर भवनमा अक्टोबर ७तारिखमा यस अवार्डका पूर्व विजेता, सेलेब्रेटी र अतिथिहरूका बीच हुने समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ।

एसियन अवार्डले व्यवसाय, कला,  प्रविधि,  राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याक मा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यान लगायत सम्मानित भएका छन्।

फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति चौधरीले आफ्नो फाउन्डेसनमार्फत सामाजिक कार्यहरू गर्दै आएका छन्। फाउन्डेसनका अनुसार उनले २०७२ को भूकम्पपछि करिब तीन हजार घर बनाएर अत्यन्त प्रभावित १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेका  थिए। त्यस्तै सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर बनाइदिएको थियो।

चौधरी फाउन्डेसनले कोभिड उपचार सहज बनाउन वीर अस्पतालमा १८ बेडको आइसियु र कान्ति बाल अस्पतालमा आकस्मिक वार्ड बनाएको थियो। सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो।

अहिले फाउन्डेसनले दुर्गम क्षेत्रमा स्वास्थ्यसेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालको गुणस्तर अभिवृद्धि गर्ने काम गरिरहेको छ। यसबाहेक शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, उद्यमशीलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तीकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend