पब्लिक सूचना
विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा सरकारले बर्सेनि करोडौँ लगानी थप्दै गए पनि प्रतिफल भने बालुवामा पानी बराबर भएको छ । राष्ट्रिय रूपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणमा गत वर्षसम्म मात्रै ५ अर्ब भन्दा माथिका लगानी भइसकेको छ ।
सरकारले चालु आर्थिक वर्षमा दुधौरा खोला तटबन्ध र पर्खाल निर्माणमा मात्रै १९ करोड, क्यान्टिन, प्रदर्शनी हल, मुलगेट निर्माणको लागि ८ करोडको, ब्लक ‘ई’ मा पर्खाल निर्माणमा करिब ४ करोड, र पेट्रोल पम्प र धर्मकाँटा (तौलपुल) निर्माणको लागि ३ करोडको टेन्डर आवह्रान गरेको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले जनाएका छन् । करिब ३ करोड लगानीमा निर्माण भएको प्रदर्शनी हलमा भने ठेकदारको चरम लापरबाहीका कारण निर्माणका क्रममै भवन भत्किएको छ । सरकारको अर्बौको लगानी भएको क्षेत्रमा ठेकदारको चरम लापरबाहीले निर्माणाधीन संरचना भत्कँदा करोडौँको आर्थिक अनियमितता भएको आशङ्का उब्जिएको थियो ।
उद्योग मन्त्रालय मातहतमा रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणको मुख्य कार्यालय काठमाडौँमा छ । मन्त्री र सचिवको अनुगम बाहेक सेजमा न कार्यालय प्रमुख आउँछन् न त प्राविधिक नै । अर्बौको लगानी रहेको सिमरा सेज एक जना इन्जिनियर र १ जना सहायकको भरमा चलिरहेको छ । ८ सय ३३ बिगाहा क्षेत्रफलमा रहेको सेजको ५ वटा ब्लकहरु छन् । हाल ‘ए ब्लक’ मा रहेको ३४३ बिगाहा मध्ये १६० बिगाहामा रहेको ६८ वटा प्लट मध्ये ४-५ वटा प्लटहरूमा मात्रै उद्योगीले सम्झौता गरेका छन् । बाँकी बुकिङ भएका प्लटकको हकमा उद्योगीले सम्झौता गर्न चासो देखाएका छैनन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend