पब्लिक सूचना
घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई ८ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।
जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंग ५५ बलमा ५ चौका र ६ छक्कासहित ८५ रनमा नट आउट रहे ।
निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ र कायल मेयर्स १० रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वााधिक ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । युवा ब्याटर तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतको सुरुवात राम्रो हुन सकेको थिएन । स्पिनर अकिल हुसैनले पहिलो ओभरको पाँचौं बलमा युवा ओपनर यशस्वी जैसवाललाई ५ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।
हुसैनकै तेस्रो ओभरको पाँचौं बलमा शुभमन गिल ९ रनमा एलबीडब्लू आउट हुन पुगे । तेस्रो विकेटका लागि तिलक बर्मा र सूर्यले ३० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर रोश्टन चेशले बर्माको उत्कृष्ट क्याच लिँदै भारतलाई दबाबमा राखेका थिए । सञ्जु स्यामसन १३, हार्दिक पान्ड्या १४, अर्शदीप सिंह ८, अक्षर पटेल १३ र कुलदीप यादव शून्यमा आउट भए ।
वेस्टइन्डिजको जितमा प्लेयर अफ द म्याच चुनिएका तीव्र गतिका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए ।

जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । चेशले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज चार रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । तेस्रो खेलमा भारत ७ विकेट र चौथो खेलमा ९ विकेटले विजयी भएको थियो ।

विकेटकिपर निकोलस पुरन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुरनले ५ खेलमा १ सय ७६ रन बनाएका थिए । २०१७ पछि वेस्टइन्डिजलाई भारतविरुद्ध सिरिज जिताउन उनले उच्च प्रदर्शन गरेका थिए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend