साउन २३, काठमाडौँ- भारी बर्षाका कारण देशैभर पहिरो र डुबान भएको छ भने प्रमुख गरी त काठमाडौँ र भक्तपुर डुबानका कारण भयावह अवस्थामा पुगेको खबर मौसम पूर्वानुमान महाशाखाले दिएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी आउँदा डुबान भएको छ भने ठाउँ–ठाउँमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।
काठमाडौंमा रातभर परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन् । सामाखुशीमा बस्ती डुबानमा परेको छ। त्यस्तै टेकुको सुकुम्बासी बस्तीमा पनि नदी पसेको छ । अन्य नदी किनारमा समेत डुबानको प्रभाव परेको छ ।
बाग्मती, बिष्णुमती नदीहरुले खतराको तह पार गरेको छ । अविरल वर्षाले धुम्बाराहीकाे तरकारी बजार, अकामा होटल र आसपासका बस्ती जलमग्न बनाएकाे छ। चावहिल, कपनका घरहरू पनि डुबानमा परेकाे स्थानीयले बताएका छन् ।
मौसम विज्ञान विभागले बाढी थप आउन सक्ने सम्भावना रहेको बताउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मध्यान्ह १२ बजेसम्म अवस्था भयावह हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ ।
तस्बिरहरु:















© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend