logo
  • शनिबार, असोज १७ २०८३

‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तशिर भन्छन्- सन् १९०४ सम्म नेपाल भारतकै भाग थियो


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८०

भारतीय फिल्म ‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ सम्म भारतकै भाग रहेको बताएका छन्।

नेपालमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएको थियो। फिल्मको विवादित संवादबारे एक भारतीय टेलिभिजनसँग कुराकानी गर्दै उनले सन् १९०४ सम्म नेपाल भारतकै भाग रहेको बताएका हुन्।

‘नेपालको विरोध मैले अझै बुझ्न सकेको छैन। यो त्यतिबेलाको कहानी हो, जतिबेला नेपाल भारतको एक अंश थियो। यदि हामीले सीतालाई भारतकी छोरी भनिरहेका छौं भने नेपाल त्यतिबेला कहाँ भारतबाट अलग थियो,’ उनले भने, ‘नेपाल त १९०३ वा १९०४ मा भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। त्यस हिसाबले सीता भारतकी छोरी थिइन्।’

उनले आज पनि नेपाल र भारतलाई अलग नमान्ने बताएका छन्।

‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गर्दा हुन्छ म उनीहरूलाई सम्झाउन सक्छु। त्यतिबेला सीता भारतकी छोरी थिइन्। देशको हिसाबले अलग हुन सक्छ तर राष्ट्रको हिसाबले भारत र नेपाल आज पनि अलग छैन। उनीहरू त हाम्रो भाइ नै हुन्। हामी नै हौं। म नेपालीलाई आफूभन्दा अलग मान्दिनँ,’ उनले भने।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘सीता भारतीय छोरी हुन्’ भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्। उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन्।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend