साउन २१, आशिष लामिछाने । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एटलान्टाबाट डेनिस फरवार्ड रास्मस होएलन्डलाई अनुबन्ध गरेको छ । एटलान्टाले युनाइटेडको ७२ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेपछि क्लब र खेलाडीबीच सहमति भएको हो । युनाइटेडले होएलन्डलाई शनिबार ओल्ड ट्राफर्डमा सार्वजनिक गरेको छ ।
२० वर्षीय फरवार्डका लागि युनाइटेडले ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनसको रुपमा तिर्नेछ । उनी क्लबको अर्को खेलबाट छनोटका लागि उपलब्ध हुनेछन् ।

गत सिजन एटलान्टा आएका होएलन्डले ३४ खेलमा १० गोल गरेका थिए । युवा अवस्थामा नै शीर्ष लिगमा जमेका होएलन्डले युनाइटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
होएलन्ड क्लबले यस सिजन भित्र्याएका तेस्रो खेलाडी हुन् । यसअघि क्लबले ५५ मिलियन पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याइसकेको छ ।
होएलन्डलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि चासो दिएको थियो । तर किलीयन एमबाप्पेको भविष्य अझै प्रष्ट नहुँदा क्लबले अहिले आन्तरिक समस्या सुल्झाउन व्यस्त रहेको छ ।
सन् २०२२ मा डेनमार्कको राष्ट्रिय टोलीबाट डेब्यु गरेका होएलन्डले ६ खेलमा ६ गोल गरिसकेका छन् ।
तस्बिरहरु:




© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend