पब्लिक सूचना
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा बराबरी गोल गर्दै हारबाट जोगाएपछि अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा जामालेकसँग १-१ को बराबरी खेल्दै अल नासर समूह उपविजेताको हैसियतले नकआउट चरणमा पुगेको हो । समूह सी मा अल नासरले ३ खेलमा ५ अंक जोड्दा अल शबाब ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो ।
जामालेकका लागि जिजोले ५४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर रोनाल्डोले ८७ औं मिनेटमा हेडरमार्फत बराबरी गोल गर्दै अल नासरलाई अघि बढाएका थिए । यदि रोनाल्डोले बराबरी गोल नफर्काएको भए अल नासर प्रतियोगिताबाट बाहिरिएर जामालेक समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्ने थियो ।

अल नासरले अब ६ अगस्टमा हुने क्वाटरफाइनलमा मोरक्कोको राजा कलासाबान्काको सामना गर्नेछ । राजाले समूह डी को सबै ३ खेलमा जित हासिल गरेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend