पब्लिक सूचना
मध्यक्रमका ब्याटर गजानन्द सिंहको शतकका बाबजुद अमेरिका आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को दोस्रो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाउन सक्यो ।

अमेरिकाका गजानन्द सिंह १ सय ९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १ सय १ रनमा नट आउट रहे । उनको करिअरको पहिलो शतक हो । नोष्तुश केन्जिगे ३२ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
शयान जहानजिंगर ४९ बलमा ३ चौका र १ छक्कासहित ३९, स्टिभ टेलर १८, सुशान्त मोदानी १४, मोनांक पटेल ६ र आरोन जोन्स २३ रनमा आउट भए । एक समय ५५-४ को अवस्थाबाट अमेरिकाले राम्रो पूनरागमन गरेको थियो । वेस्टइन्डिजका कायल मेयर्स र अल्जारी जोशेफले समान दुई विकेट लिए । रोश्टन चेश र जेसन होल्डरले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४९.३ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । जोनसन चाल्र्सले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । शाई होप ६० बलमा ६ चौका र १ छक्कासहित ५४, कायल मेयर्स २, ब्रेन्डन किंग र रोभम्यान पावेल डक आउट भए ।

जेसन होल्डरले ४० बलमा २ चौका र ३ छक्कासहित ५६ तथा निकोलस पुरनले २८ बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए । रोश्टन चेशले ५५ बलमा ४ चौका र १ छक्कासहित ५५ रनमा आउट भए ।
अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवालकरले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । कायल फिलिप्सले ९.३ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए । स्टिभ टेलर ८ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए ।
अमेरिकाले मंगलबार नेपालसँग खेल्नेछ । वेस्टइन्डिजले बिहीबार नेपालसँग नै खेल्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend