logo
  • शनिबार, असोज १७ २०८३

ओलीले भने- संवैधानिक प्रक्रिया बाहिरबाट कोशीको नाम परिवर्तन हुँदैन, एमाले सरकार रहन्छ


  • पब्लिक सूचना
  • आइतबार, असार ३ २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। आइतबार सातै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित प्रदेश सांसदहरूसँग भर्चुअल बैठकमा उनले कोशी प्रदेशमा साम्प्रदायिक र हिंसात्मक गतिविधि भएको बताउँदै एमालेले नस्वीकार्ने बताएका हुन्।

‘संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताउनुभयो,’ प्रचार विभागले विज्ञप्तिमार्फत् भनेको छ,  ‘उहाँले कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने कुरामा जोड दिनुभयो ।’

अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा स्वार्थ प्रेरित भएको टिप्पणी गरेका थिए।

‘बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको छ। यसरी बजेटको दुरुपयोग गर्नु आपत्तिजनक कुरा हो,’ ओलीले भनेका थिए।

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिएका छन्। बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन आग्रह गरेको गगन विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

‘हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा बताइएको छ।

बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका थिए।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend